एमबाप्पे मेस्सीभन्दा तीन गुणा अघि !

एजेन्सी : अहिले नै स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी र फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका फ्रेन्च खेलाडी केलिएन एमबाप्पेबीच तुलना गर्नु हतारो हुन्छ । किनभने, मेस्सी ३१ वर्षका भइसके भने एमबाप्पे भर्खर २० वर्षका छन् । त्यत्ति मात्रै हैन, मेस्सीले ३१ वर्ष पुग्दासम्म आफ्नो करिअमा पाएका सफलताका छेउमा एमबाप्पे निकै पछि छन्, शिवाय विश्वकप । विश्वकपलाई छाडिदिने हो भने एमबाप्पेले मेस्सीका सफलता र रेकर्ड पछ्याउन अझै थुप्रै वर्ष मैदानमा बिताउनुपर्छ ।

भलै, अहिले एमबाप्पेलाई भविष्यका ठूला सुपरस्टार खेलाडीका रूपमा हेर्न थालिएको छ । र, उनले त्यो संकेत पनि देखाइसकेका छन् । तर, आज यहाँ मेस्सी २० वर्ष पुग्दाको करिअर र एमबाप्पे २० वर्ष पुग्दाको करिअरबारे चर्चा गरिएको छ ।

२० वर्षे तुलना : मेससीभन्दा एमबाप्पे तीन गुणा अघि !

अहिले मात्रै २० वर्ष पुगेका एमाबप्पे तथ्यांकका आधारमा अहिले नै मेस्सीभन्दा धेरै अगाडि छन् । एमबाप्पे हरेक कुरामा मेस्सीभन्दा अगाडि छन्, जतिबेला मेस्सी २० वर्षका थिए । अर्थात्, मेस्सीले आफू २० वर्षको हुँदा जति सफलता पाएका थिए, जति रेकर्ड बनाएका थिए, एमबाप्पे ठीक मेस्सीकै उमेरमा हुँदा मेस्सीको भन्दा धेरै अघि छन् ।

एमबाप्पेले २० वर्षकै उमेरमा विश्ववप जिते भने त्यसक्रममा उनले विश्व फुटबलमा केही दुलर्भ रेकर्डसमेत राखेका छन् । तर, मेस्सी २० वर्षको हुँदा देश अर्जेन्टिनाका लागि उनको यस्तो शानदार रेकर्ड थिएन ।  एमबाप्पेले अहिले नै करिअरमा कूल ९६ गोल गरिसकेका छन् । उनले क्लब मोनाको, पिएसजी र फ्रान्सका लागि गरी कूल ९६ गोल गरेका हुन् । जबकि, मेस्सीले एमबाप्पेको उमेरमा मात्रै ३० गोल गरेका थिए ।

युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा एमबाप्पेले अहिले नै २० गोल गरिसकेका छन् । र, सोही प्रतियोगितामा मेस्सीले २० वर्षकै उमेरमा मात्रै ११ गोल गरेका थिए । एमबाप्पेले २० वर्षकै उमरेमा विश्वकप जिते भने मेस्सीले ३१ वर्षको उमेरसम्म पनि अर्जेन्टिनाका लागि विश्वकप वा अन्य कुनै ठूला उपाधि जित्न सकेका छैनन् ।

यता, जारी सिजन मेस्सी युरोपका टप लिगमा ला लिगाबाट सर्वाधिक ३३ गोलसहित गोल्डेन बुटको दौडमा छन् । यसैबेला २० वर्षीय एमबाप्पेले मेस्सीलाई मात्रै ३ गोलले पछि रहेर टक्कर दिइरहेका छन् ।  लिगमा बाँकी खेल र अन्य अवस्था हेर्दा यो सिजन एमबाप्पेले मेस्सीलाई गोल्डेन बुटमा पछि पार्नसक्ने सम्भावना प्रबल छ ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १५:०८