ब्रिटिस गोर्खा भूपू सैनिकलाई उपसभामुखको आग्रह -‘संविधानभित्र रहेर छलफल गरौं’

काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संविधानभित्रै रहेर नागरिकताका सवालमा अभियान चलाउन ब्रिटिस गोर्खा भूपू सैनिकलाई आग्रह गर्नुभएको छ । ब्रिटिस गोर्खा भूपू सैनिक र उनीहरुका परिवारलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता र उनीहरुबाट सम्भावित पूँजी पलायनबारे जानकारी गराउन भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानभन्दा बाहिर गएर गरेका छलफलले निष्कर्ष निकाल्न नसक्ने उल्लेख गर्नुभयो । ‘संविधानले दिएको अधिकार उपयोग गर्दै तपाईंहरुको अभियान चलाउनुहोला,’ उहाँले भन्नुभयो, ‘संविधानभन्दा बाहिर गएर छलफल गर्न सकिँदैन ।’

उपसभामुख डा. तुम्बाहाङ्फेले ब्रिटिस गोर्खा भूपू सैनिकले मागेजस्तो अधिकार दिन संविधान नै संशोधन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताउँदै तत्कालै संशोधन गर्न सहज हुने पनि बताउनुभयो । उहाँले नागरिकता ऐनमा समितिमा छलफल भइरहेको दोहो¥याउँदै समितिको प्रतिवेदन आएपछिमात्रै संसदमा छलफल हुने जानकारी दिनुभयो ।

ब्रिटिस गोर्खा भूपू सैनिकहरुले आफ्नो अभियानबारे संसदीय समिति तथा राजनीतिक दललाई भेट गरेको स्मरण गर्दै आफ्नो अधिकारका लागि गरिरहेको पहललाई सकारात्मकरुपमा लिनुभयो । उहाँले आफ्ना अधिकारहरुलाई सामूहिकरुपमा उठाउन पनि आग्रह गर्नुभयो ।
संवैधानिक सीमाका कारण आफूले ब्रिटिस गोर्खा भूपू सैनिकहरुको मागबारे लबिइङ गर्न नमिल्ने बताउँदै उहाँले तर प्रक्रियाको सहजताका लागि भूमिका खेल्ने वचन दिनुभयो ।


प्रकाशित | २६ श्रावण २०७६, आईतवार १३:२९