थ्री स्टार क्लवलाई राजर्षि कपको उपाधि

काठमाडौं : तेस्रो संस्करणको राजर्षि कप फुटबलको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ । सर्लाहिमा शुक्रबार भएको फाइनलमा आयोजक बाग्मती युवा क्लबलाई २- १ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । उपाधिसंगै थ्री स्टारले १० लाख नगद पुरस्कार पाएको छ । उपविजेता आयोजकले ५ लाखमा चित्त बुझायो ।

थ्री स्टारलाई उपाधि दिलाउन रञ्‍जित धिमाल र सुशील राईले एक एक गोल गरे । बाग्मतीका क्रिस्टियन एगेनेले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता भने आयोजकले बनाएको थियो ।

खेलको ६३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै बाग्मतीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६५ औं मिनेटमा रञ्‍जितले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम समयमा सुशीलले गोल गर्दै थ्री स्टारलाई २-१ को जित दिलाए । बाग्मतीका सगुन राईले उत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल हात पारे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता थ्री स्टारका सुशील राई चुनिए । उनले २० हजार नगद प्राप्त गरे । उत्कृष्ट डिफेन्डर बाग्मतीका क्रिस्टियन, मिडफिल्डर थ्री स्टारका कप्तान विक्रम लामा, गोलकिपर बाग्मतीका अरुण तामाङ र प्रशिक्षक थ्री स्टारका मेघराज केसी चुनिए ।प्रतियोगिताको उदयमान खेलाडी विमल घिसिङ चुनिए ।

 


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार २१:१२