सुभद्रा चौधरी
गएको वैशाख अन्तिमतिर म पहिलो पटक संक्रमित भएँ। त्यो बेला मलाई कोरोनासँग कुनै डर लागेको थिएन। संक्रमितको उपचार र अरु काम गर्न पनि मलाई कुनै डर लाग्थेन। व्यक्तिगत सुरक्षा अपनाउँदाअपनाउँदै पनि दोस्रो पटक संक्रमित हुन पुगें। त्यसपछि अलि डर लाग्न थाल्यो। त्यो डर अहिले पनि मनमा छ।
यो वर्ष दसैंलाई लिएर मेरो कुनै विशेष योजना छैन। अधिकांश जस्तो योजना रद्द गरेको छु। दसैं मनाउन कतै आफन्तकहाँ जाँदाजाँदै बीचमै कोरोना संक्रमण भयो भने के गर्ने ? यस्तै खालको डर लाग्छ। म मात्र होइन, मेरा केही सहकर्मीहरु पनि घरमै सुरक्षित रहेर दसैं मनाउने योजनामा छन्।
यदि यस वर्ष पनि पहिलेको जस्तै स्थिति सामान्य हुन्थ्यो भने हामी आफन्तको घरमा जमघट गरेर दसैं मनाउँथ्यौं। यो वर्ष त मेरो कतै जाने योजना नै छैन। म दुई पटकसम्म कोरोना संक्रमित भएँ। त्यसैले पनि यसबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमै अहिले बढी केन्द्रित भइरहेकी छु।
छोरालाई पनि मैले मामाघर पठाएकी छु। त्यसैले मेरो दसैं सायद अस्पतालकै निवासमा हुन्छ होला। घर जाने सम्भावना निकै कम छ।
दसैं नेपालीको महान चाड भए पनि हामी सबैले सुरक्षित भएर मनाउनुपर्छ। सकेसम्म धेरै जमघट गर्नु हुँदैन। आफ्नो घरमा परिवारसँग मात्र रमाइलो गरेर पनि दसैं मनाउन सकिन्छ। अहिलेको परिस्थिति सामान्य नभएका कारण पनि आफन्तहरुबीच भीडभाड गर्नु सुरक्षित छैन।
दसैंमा धेरै जाँड–रक्सी खानु हुँदैन। स्वस्थकर खानेकुरामा बढी जोड दिनुपर्छ। यसले पनि हामीलाई स्वस्थ रहन मद्दत गर्छ। घर–परिवारमा जो–जति छन्, त्यसमा हामी रमाएर यो दसैं मनाउन मेरो सुझाव छ। स्रोत – स्वास्थ्य खवर
(स्टाफ नर्स चौधरी नारायणी अस्पाल वीरगञ्ज कार्यरत छिन्।)
प्रकाशित | ६ कार्तिक २०७७, बिहीबार ०९:५०