काठमाडौंमा भाइरसलाई भाइरल बनाउने यी १० कारण

कौशिक नवराज

संक्रमित जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन। ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ। विदेशबाट चार्टर विमानमा आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन्।

देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित बन्दै गएको देख्न सकिन्छ। करिब ५० लाख मानिस बसोबास रहेको काठमाडौं उपत्यकामा दिन प्रतिदिन ४ अंकका दरमा र समग्र देशको करिब ६० प्रतिशत संक्रमित यसै उपत्यकामा देखिन थाल्नुले थप चुनौती थपिन सक्ने देखिन्छ।

सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ। जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ। जति धेरै संक्रमितको पहिचान भयो, संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन।

पछिल्ला दिनमा काठमाडौंमा संक्रमित के-कसरी दैनिक हजारभन्दा बढिका दरमा बढ्न थालेका छन भन्ने बुझ्न पछिल्लो केही दिनयता प्रकाशित समाचारहरु अध्ययन गरे पुग्छ।

उदाहरण १
पछिल्लो दिनमा सम्पर्कविहीन संक्रमितले तनाव दिएको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुखले बताएका छन्। उनका अनुसार पिसिआर परीक्षण गराउने क्रममा गलत सम्पर्क नम्बर र ठेगाना टिपाएका कारण पिसिआर पोजेटिभ रिपोर्ट खल्तीमा बोकी समुदायमै घुलमिल भइरहेको हुनसक्ने आशंका समेत व्यक्त गरेका छन्।

उदाहरण २
काठमाडौंको एक कुरियरमा कार्यरत वितरक रमेश कार्की (नाम परिवर्तन) लाई कामको सिलसिलामा सामान डेलिभरी गर्ने क्रममा कोरोना पोजेटिभ देखियो। उनको रिपोर्ट आएको भनी मोबाइलमा मेसेज आयो। उनले लग इन गरी हेरे। रिपोर्ट पोजेटिभ देखियो। उनका कोठामा एक बच्चा र श्रीमती सहित बस्थे। उनले श्रीमतीलाई सो जानकारी गराई माइत पठाए अनि कोठामा एक्लै बस्न थाले। उनले न ओल्लो, पल्लो कोठाका साथीहरुलाई यससम्बन्धी जानकारी गराए न घरबेटी न छिमेकीलाई नै जानकारी गराए। उनी १४ दिन होम क्वारेन्टाइनमा बसेपश्चात् पुन: चेक गर्दा उनको रिपोर्ट नेगेटिभ आयो र उनी नियमित काममा फर्किए। तर यस बीचमा उनलाई रिपोर्टको विषयमा न अन्य कुनै मेसेज आयो न कुनै कल नै। कुनै स्वास्थ्यकर्मीले फोन पनि गरेनन् र वडा कार्यालयले सम्पर्क पनि गरेन।

उदाहरण ३
काठमाडौंमा डेरा गरी बस्ने एक व्युटिपार्लर सञ्चालिकालाई लगातार ज्वरो आउने भएपछि उनले टेकु हस्पितलमा गई चेक गराउँदा कोरोना संक्रमण देखियो। अब सुरु भयो कन्ट्याक्ट ट्रेसिङको कार्य। उनको सम्पर्क र पार्लरमा आउनेको खोजी गर्न थालियो। उनले सुरुमा त सही सही विवरण दिन थालिन् तर जब उनले आफ्नो श्रीमान वैदेशिक रोजगारीमा गएको तर आफ्नो लभ अफेयर अर्कैसँग भएको एक अधवैंसेको नाम लिइन् अनि ती अधवैंसेको खोजी सुरु भयो, तब उनले बुझिन् यसरी लहरो तान्दा पहरो आउने देखिएपछि उनले गलत विवरण दिएर कन्ट्याक्ट ट्रेसिङको विवरण दिइन्। यसको पछाडि समाज र सामाजिक कारणहरु जिम्मेवार हुने उनले बताइन्।

यी माथिका उदाहरणबाट स्पष्ट हुन्छ कि उपत्यकामा कोरोना संक्रमित थप हुन कसरी मलजल भइरहेको छ। यसका साथै काठमाडौं उपत्यकामा संक्रमित बढ्नुका कारणहरुबारे यहाँ सविस्तार चर्चा गरिएको छ।

१. फितलो कन्ट्याक्ट ट्रेसिङ
उपत्यकाका सक्रमित बढ्नुको एक प्रमुख कारण फितलो कन्ट्याक्ट ट्रेसिङ पनि एक कारण हो। संक्रमितको सम्पर्कमा आएकाहरुको प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ गर्न पर्ने साथै गलत विवरण दिएमा कारबाहीको भागिदार बनाउन पर्नेमा नाम मात्रै ट्रेसिङले थप संक्रमित बढाएको देखिन्छ। संक्रमितको सम्पर्कमा आएकाहरुको सही र मिहिन ढंगले अध्ययन हुन पर्नेमा सो नदेखिएको पाइन्छ। संक्रमितले जेजे विवरण दियो सोलाई नै सत्य मानेर अगाडि बढ्दा थप समस्या देखिएको पाइन्छ। हालै मात्रै दक्षिण कोरियामा एक शिक्षकलाई कन्ट्याक्ट ट्रेसिङका क्रममा गलत विवरण दिएको भनी ६ महिना जेल हाल्ने फैसला सुनाइयो। नेपालमा यस सम्बन्धमा कुनै व्यवस्था रहेको देखिँदैन। जेजे विवरण दिए पनि सही गलत विवरण दिएमा क्रस चेक गर्ने कुनै प्रावधान नरहेको र गलत विवरण दिएमा कारबाहीको भागिदार बनाउन पर्नेमा सो हुन नसकेको देखिन्छ।

२. अनुगमनविहीन होम क्वारेन्टाइन
उपत्यकामा संक्रमित बढ्नुको अर्को कारण हो कोरोना संक्रमित देखिएको व्यवस्थान घरमै गर्ने नीति अर्थात घरमै बसी संक्रमणलाई जित्न पर्ने प्रावधान। यसरी घरमै बस्दा संक्रमितले अन्यलाई सार्ने जोखिम उच्च भएको तर्फ सरोकारवाला वा अन्य कसैको ध्यान पुग्न सकेको देखिँदैन। काठमाडौंमा अधिकांश मानिस डेरामा बस्ने गर्छन्। उनीहरु उपत्यका बाहिरी जिल्लाबाट रोजगारी तथा अध्ययनको सिलसिलामा एउटै कोठामा २-३ जनासम्म बसोबास गर्ने साझा सौचालय प्रयोग गर्ने देखिन्छ। यस्तो अवस्थामा कोही संक्रमित भएमा न स्वास्थ्य मन्त्रालय न स्थानीय निकाय न प्रहरीले नै खोजविन गर्ने गरेको देखिन्छ। सबै मिडियाबाजिमा मात्रै रमाएको देख्न सकिन्छ।

यसका साथै यसरी अप्रभावकारी अनुगमनले होम क्वारेन्टाइनमा बसेका संक्रमितहरु खुल्लमखुला बाहिर निस्किने घुमफिर गर्ने गरेको कारण अन्यलाई सर्ने क्रम बढिरहेको देखिन्छ। होम क्वारेन्टाइनमा बसेकाहरुलाई न स्वास्थ्य मन्त्रालय न वडा कार्यालय न प्रहरीले एक पटक खोजविन त के एक कल फोन समेत गरेको देखिँदैन। कतिपय अवस्थामा घरमा बसेका डेरावाल संक्रमित भए घरबेटीले समेत थाहा नपाउने स्थिति बनेको देख्न सकिन्छ।

३. मास्कको गलत प्रयोग
मास्कको प्रयोगले मानिसको हाछ्युँ र खोक्दा थुकको छिटा नाक र मुखमा प्रवेश गर्नबाट रोक्ने जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका सरुवा रोग विशेषज्ञ डा अमेश अडल्जाले बताए। उनले भने, ‘कोरोना भाइरस मुख्य गरी खोकी र हाछ्युँको छिटाबाट सर्ने गर्छ। मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो। धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन्। जसका कारण संक्रमण फैलिन सक्ने खतरा रहन्छ।’

ह्यामिल्टनस्थित म्याक मास्टर युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ डा मार्क लियोबले सार्स कोरोना भाइरसको संक्रमण भएको बेला मास्कका कारण श्वासप्रश्वासको माध्यमबाट स्वास्थ्यकर्मीमा हुनसक्ने संक्रमणको जोखिम करिब ८५ प्रतिशतले कम गर्न सकिएको बताएका छन्। 

‘सबैभन्दा महत्वपूर्ण सन्देश थियो कि कुनै पनि मास्कको लगातार सही प्रयोगले जोखिम कम गर्न सकिन्छ’, उनले भने। काठमाडौंबासीहरुले कोरोनालाई अत्यन्तै खेलाँचीको रुपमा लिएको देखिन्छ। सार्वजनिक स्थानहरुमा समेत मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने। मास्क प्रयोग गर्दा समेत नाक मुन्तिर मात्रै लगाउने, हातमा मास्क लगाउने प्रवृत्तिले कोरोनाको जोखिम थप बढाइरहेको देखिन्छ। सरकारले मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्ने भने पनि सो प्रभावकारी हुन नसकेको देखिन्छ। यसका साथै उच्च शिक्षित वर्गहरु समेत सार्वजनिक स्थानको साथै आफ्ना आफन्तहरु भेटिँदा गफ गर्दा मास्क खोलेर गफ गर्ने प्रवृत्ति देखिन्छ। मास्क प्रयोग नगरी गफ गर्दा यसले समेत जोखिमलाई थप निम्त्याइरहेको देखिन्छ।

४. सार्वजनिक यातायात
उपत्यकालाई थप आक्रान्त पार्ने अर्को कारण हो सार्वजनिक यातायात। उपत्यकामा चल्ने सार्वजनिक यातायात हेर्दा यस्तो लाग्छ, यहाँ न कहिले कोरोना लागेको थियो न लाग्ने छ, न कोरोनाले कोही मरेको नै छ। यस्तो गलत बुझाइले गर्दा कोरोना संक्रमित बढ्न मद्दत पुगेको देखिन्छ। साविकभन्दा थप ५० प्रतिशत बढी भाडा लिने तर साविकमा भन्दा आधा मात्रै सिट क्षमतामा सार्वजनिक यातायातमा यात्रु राखी सञ्चालन गर्नु भनेकोमा सो हुन नसकेको साथै क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएको, चालक तथा सहयोगीले भौतिक दूरी त परको कुरा मास्क समेत नलगाएको र स्यानिटाइजर र अन्य सुरक्षाका उपायहरु नरहेको कारण डढेलो लागे सरह संक्रमित थपिन पुगेको देखिन्छ। सार्वजनिक यातायातमा कोचाकोच यात्रु राख्दा न ट्राफिक प्रहरीले केही गर्न सकेको न अन्य कुनै निकायले। यात्रुहरु बाध्यताबस चढ्न पुगेका छन्।

५. फुटपाथ र सैलुन
बजारमा भीडभाड गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारबाही गरिएको छैन। न्युरोड, असन, रत्नपार्क, सुन्धारादेखि कोटेश्वरसम्मका फुटपाथ हेर्दा कोरोना केही होइन भन्ने आमबुझाइ पाइन्छ। न फुटपाथमा भौतिक दूरी कायम भएको देखिन्छ न सुरक्षाका कुनै उपाय नै अवलम्बन गरिएको छ। यसैगरी भौतिक दूरी कायम गर्न नसकिने अर्को क्षेत्र हो सैलुन व्यवसाय। तर जीवनभन्दा रोजगारीलाई प्राथमिकता दिनुपर्ने बाध्यताका कारण सैलुन व्यावसाय सञ्चालनमा आए। सैलुन सञ्चालकहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको देखिँदैन। यसका साथै भट्टी पसलदेखि डान्सबार जहाँ भौतिक दूरी कायम गर्न नसकिए पनि सञ्चालनमा आएर थप जोखिम बढाएको देख्न सकिन्छ।

६. गैरव्यावसायिक र अमर्यादित अस्पताल
सरकारले पहिलो पटक चैत्त ११ गतेदेखि लकडाउन लागू गर्दा देशमा जम्मा १ जना मात्रै संक्रमित केस देखिएको अवस्था भए पनि मानिसमा कोरोनाप्रति अत्यधिक भय थियो। अत्यावश्यक वाहेक मानिसहरु घर बाहिर निस्किने त परको कुरा अस्पतालबाट समेत सर्ने जोखिम भएको भनी अस्पताल पनि जाँदैनथे। तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक कोभिड टेष्ट गर्न निजी ल्याब र अस्पतालाई समेत दियो। हरेक अस्पतालमा कोभिडको लागि न्यूनतम बेड सुरक्षित गर्नुपर्ने भनी निर्देशन सर्कुलर गर्यो  तर ‍देशमा ठूला व्यावसायिक घरानाबाट सञ्चालित अस्तपालहरुले सरकारको निर्णयलाई बेवास्ता गर्दै न्यूनतम बेड छुट्टाउन त परको कुरा सरकारले तोकेभन्दा बढी रकममा कोरोना टेष्ट शुल्क लिन थाल्यो।

कोरोना संक्रमितलाई बेड हैन, गेटबाट नै फर्काउन थाल्यो। यसरी राज्यबाट एम्बुलेन्स गाडि लगायत सर्जिकल आइटममा भन्सार छुट सुविधा पाइरहेका अस्पतालहरुले यसरी मनोमानी गर्दा न संघीय सरकार बोल्न सक्यो न प्रदेश सरकार, न त अन्य उपभोक्तावादी नै। यसमा सरकारी अस्पतालहरु पनि कम छैनन्। पछिल्लो पटक धेरै मिडियाहरुमा वीर अस्पतालको मनोमानी बाहिर आइरहेको छ। पर्याप्त मापदण्ड पूरा गर्न नसकेको, तलब सुविधा नपाएको, मास्क, पिपिई लगायत सुरक्षाका उपकरण दिन नसकेका कुरा सार्वजनिक भइरहेका छन्। यसरी जोखिमको समयमा अस्पतालहरु जसरी मर्यादित र व्यावसायिक हुनुपर्ने थियो सो हुन नसकेको कारण उपत्यका थप असुरक्षित बन्दै गएको देखिन्छ।

७. समन्वयको अभाव
कोरोना नियन्त्रण गर्न पछिल्लो समय सरकारी निकायहरु बीचमा नै समन्वयको अभाव देखिएको छ। स्थानीय तह, प्रदेश र संघीय निकायहरु बीचमा तालमेल हुन सकेको देखिँदैन। संघीय सरकारले जारी गरेका परिपत्र र आदेशहरुको परिपालना स्थानीय र प्रादेशिक कार्यालयहरुले गरेका छैनन्। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ कसले गर्ने, संक्रमितको सम्पर्कमा को रहने जस्ता विषयहरुका सम्बन्धमा अन्योल देखिन्छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पनि स्थानीय तहले परिपालना गरेनन्। भाटभटेनी सुपरमार्केट वडाको क्षेत्राधिकार भित्र पर्ने कि जिल्ला प्रशासनको हालसम्म पनि यकिन हुन सकेको देखिँदैन। यातायात व्यवस्था विभागले जारी गरेको एक सिट एक यात्रु सम्बन्धी निर्देशिका न स्थानीय निकायले परिपालना गरेका छन् न ट्राफिक प्रहरीले नै। सुरक्षाका मापदण्ड विना नै खचाखच यात्रु राख्दा पनि ट्राफिक किन मौन छ, विभाग किन मौन छ?

८. कोरोना केही होइन भन्ने भ्रम
आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ। सही तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ। भौतिक दूरी पटक्कै कायम भएको छैन। थुक्ने बानी उस्तै छ। हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षा विधि झारा टार्ने प्रवृत्तिको रुपमा स्थापित छ। उपत्यकाबासीले कोरोनालाई सामान्य रुघाखोकी सरह पनि सम्झेनन्। यसको पछाडिको कारण खोज्न टाढा जानै पर्दैन। स्वयं देशको कार्यकारी प्रमुखले नै कोरोना केही होइन, सामान्य रुघाखोकी जस्तै हो, तातोपानी खाने, हाछ्युँसाछ्युँ गरेर उडाउने, बेसारपानी खाने भनेर गरेको टिप्पणी नै उपत्यकाबासीको लागि कोरोना डढेलो बनेर आयो। देशको नीति निर्माण र कार्यान्वयनको तहमा रहनेहरुले नै भीडभाड गर्ने, पार्टी, बैठक गर्ने, मास्क हातमा झुण्ड्याएर हिँड्ने, सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्ने प्रवृत्ति नै उपत्यकामा कोरोना जोखिम बढाउन थप सिद्ध हुन पुगेको देखिन्छ।

स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बौंका बिल बनाउन व्यस्त छ। सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोच्नेसम्म फुर्सद छैन। नेपालीले हिमालको चिसो र मिनरल मिश्रित पानी, शुद्ध खाना खाएका कारण इम्युन पावर उच्च रहेको भनी अप्रमाणित तर्क गर्नु नै उपत्यका जस्तो घना बस्ती भएको स्थानमा दैनिक नयाँनयाँ रेकर्ड बनाउँदै कोरोना बढिरहेको देख्न सकिन्छ।

९. इम्युन पावरको आधारहीन अपव्यख्या
इम्यनु पावरको कारण समेत कोरोना संक्रमणको जोखिम बढेको पाउन सकिन्छ। कुनै एक व्यक्तिमा कोरोना लाग्यो। यदि उसको इम्युन पावर राम्रो रहेको अवस्थामा उसलाई कोरोनाले केही गर्न नसक्ने हुन्छ तर उक्त व्यक्तिमा शरीरमा भएको तर उसलाई असर गर्न नसकिरहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने र उक्त सरेको भाइरले कुनै इम्युन पावर कमजोर भएको व्यक्तिमा असर गर्न सक्ने देखिन्छ। यसको उदाहरणको रुपमा एकै घरका श्रीमानमा संक्रमण देखिँदा श्रीमतीमा नदेखिनु साथै आमामा देखिँदा छोराछोरीमा नदेखिनुको पछाडि इम्युन पावरको कारण हुनसक्छ। कोरोनाले जहिले पनि कमजोर इम्युन पावर भएका व्यक्तिलाई सताउने भएको कारण चुरोट, रक्सी खाएर कलेजो कमजोर भएका व्यक्तिहरुमा अन्य इम्युन पावर राम्रो भएका मानिसबाट सर्ने जोखिम उच्च रहेको तर उच्च इम्युन पावर भएका व्यक्तिको शरीरमा कोरोना भाइरस हुन सक्ने तर त्यसले उसलाई कुनै असर गर्न नसके पनि अन्य व्यक्तिमा सर्ने देखिएको अवस्था अनुसन्धानहरुले देखाएको छ। उपत्यकामा कम परीक्षणको कारण यसरी संक्रमण फैलिरहेको एक कारण यो पनि हो।

१०. स्वयं जनता
सार्वजनिक स्थानमा मास्क लगाउने तर बोल्ने बेलमा चिउडोमुनि सार्ने, साथीभाइ वरिपरि टेबलमा जम्मा भएर खाजा-नास्ता गर्ने बेलामा मास्क खोल्ने, यी मेरा आफन्त हुन्, साथीभाइ हुन्, यिनीहरुलाई लागेको छैन, मलाई पनि लागेको छैन भन्ने भ्रममा बाँचेका काठमाडौंबासीको कारण कोरोना भाइरस भाइरल बन्दै गएको छ। जोखिमको बेलामा घरमै पकाएर खानुपर्ने, घरमै पकाएको कार्यालयमा लगेर खानुपर्नेमा अरु बेलाको जस्तो होटलमा गएर खाने, साथीभाइ भेला भएर पार्टी गर्ने, भौतिक दूरी र सुरक्षाका उपाय बेगर कार्यक्रम आयोजना गर्ने, भेला हुने प्रवृत्ति देखियो, जुन अनपढभन्दा शिक्षित सहरियाले बढी गरेको पाइन्छ।

उपत्यकाबासीको प्रमुख समस्या के हो भने उनीहरु उरुको हेरेर रमाइलो गर्छन्, अरुको समस्या केही होइन भन्ने ठान्छन्। आफू जति जान्नेसुन्ने कोही छैन भन्न भ्रम पालेर बस्छन्। यही नै हो अहिले उपत्यका जोखिम बन्दै जानुको कारण। स्रोत – स्वास्थ्य खवर


प्रकाशित | २ कार्तिक २०७७, आईतवार ११:०४