सरकारले संसद्मामा प्रस्तुत गरेको विधेयकमा छलफल गर्न सकिन्छ तर फिर्ता हुँदैन: मन्त्री बाँस्कोटा

बाँके : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मामा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने स्पष्ट पार्नुभएको छ । सरकार अभिभावक भएको बताउदै सन्ततिको संरक्षणका लागि मिडिया काउन्सिल विधेयक ल्याएको प्रष्ट पार्नुभयो । विधेयक गला रेट्न ल्याइएको नभई सन्ततिको संरक्षणका लागि ल्याएको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले काउन्सिल विधेयक श्रमजीवी पत्रकारको हित तथा लेखेर खानेका पक्षमा रहेको बताउँदै सडकमा उफ्रेर र आन्दोलन गरेर समस्या समाधान नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विधेयक श्रमजीवी पत्रकारको हितमा छ, लेखेर खानेका पक्षमा छ । लेखेकै आधारमा कोही कारवाहीमा पर्दैन । गलत गर्नेलाई विधेयकले नियमन गर्ने हो, सही सूचना दिँदा कारवाही हुन्छ कि भनेर डराउनु पर्दैन ।’

मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘मिडिया विधेयकले नियन्त्रण गर्न आँट्यो भनेर झण्डा उठाउनु ठीक हो, यहाँ त नियमन गर्न पाइँदैन भनेर झण्डा उठाइँदैछ, मिडिया नियमन गर्न पाइँदैन भन्नु पत्रकारिता कानूनभन्दा माथि छ भन्न खोजिएको छ । विधेयकमाथि संसद् र सदनमा छलफल भइरहेको छ । यसमा आन्दोलन गर्नुपर्ने कुनै कारण नै छैन ।’


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार २१:१६