कठिन बन्दै भान्सा

काठमाडौँ । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् ।

कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताउनुभयो । आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन । यस्तै भइरहने हो भने दशैँमा समेत सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने रिजालले गुनासो गर्नुभयो ।

व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँगिएको दाबी गर्छन् । कालीमाटी फलफूल तथा तरकारी व्यापारिक संस्थाका अध्यक्ष एवं थोक व्यापारी गीताप्रसाद आचार्यले आलुको पकेट क्षेत्र पाँचखालमा यो वर्ष वर्षाले गर्दा उत्पादन ढिला हुने हुँदा यसको मार उपभोक्तामा परेको बताउनुभयो । पाँचखालको आलु उत्पादन भएर बजारमा आउन अझै एक महिना लाग्ने भएकाले आलुको भाउ अझै महँगो हुनसक्न उहाँको भनाइ छ ।

आचार्यका अनुसार हरियो तरकारी पनि गत वर्षभन्दा महँगिएको छ । कालीमाटीमा आउने तरकारी गोलभेँडा, स्थानीय काउली, मूला तराई हुँदै भारतसमेत निर्यात भएको र त्यसले गर्दा तरकारीको मूल्य बढेको उहाँको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो । समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८०० टन तरकारी आउने गरेकामा अहिले दैनिक ३४० देखि ४५० टनसम्म तरकारी आएको छ ।

समितिका प्रवक्ता विनय श्रेष्ठले मागअनुसार आपूर्ति नभएपछि भाउ बढेको बताउनुभयो । विशेष गरी आलु, गोलभेँडा, स्थानीय काउली, घिउ सिमी, लौकालगायतका तरकारीको भाउ महँगिएको छ ।

समितिका अनुसार गत वर्ष यतिबेला प्रतिकेजी ३३ देखि ३५ रुपियाँमा पाइने गोलभेँडा अहिले बढेर ६५ देखि ७५ रुपियाँ थोकमै पुगेको छ । काउली, मूला, घिउ सिमीलगायतका तरकारी पनि गत वर्षभन्दा ३५ देखि ४५ प्रतिशतसम्म बढेको समितिले जनाएको छ । समितिका अनुसार कागती भने गत वर्ष प्रतिकेजी २६५ रुपियाँ रहेकामा यो वर्ष घटेर १५५ रुपियाँ भएको छ ।

उपभोक्ता अधिकारकर्मी भने तरकारी कम आएरभन्दा पनि व्यापारीले बहाना बनाएर महँगोमा बिक्री गर्ने गरेको दाबी गर्छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लोपटक तरकारीमा भएको मूल्य वृद्धिको मुख्य कारण बिचौलिया, व्यापारीको मनोमानी भएको दाबी गर्नुभयो ।

अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले दशैँ आउँदै गर्दा सर्वसाधारण उपभोक्तालाई बजार भाउले निराशबाहेक केही नपारेको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २९ आश्विन २०७७, बिहीबार ०७:२१