गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा

काठमाडौं । सरकारले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपालीको छुट्टै पहिचान दिने ‘एनआरएन स्मार्ट कार्ड’ वितरण गरिने घोषणा गर्नु भएको हो ।

त्यस्तै, गैर आवासीय नेपालीहरुको ज्ञान, पूँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न नेपाल सरकारको समेत लगानीमा स्थापीत एनआरएन कोषलाई पूर्वाधार विकासमा उपयोग गरिने बजेटमा उल्लेख गरिएको छ ।

गैर आवासीय नेपाली संघ मार्फत १० अर्बको लगानी भित्र्याउने उद्देश्यले ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ नामको कम्पनी स्थापना भइसकेको छ । नेपाल सरकारको समेत लगानी रहेको सो कम्पनीले दर्ता प्रक्रिया सम्पन्न गर्दै यति बेला प्रतिबद्धता जाहेर गरेका संस्थापकहरूबाट रकम माग गर्ने कार्यलाई अघि बढाइरहेको छ।

त्यस्तैगरि, बजेटमा ब्रेन गेन सेन्टरलाई क्रियाशील बनाई विदेशमा विशेषज्ञा एवंम् विशिष्ठता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निर्माणमा उपयोग गरिने पनि उल्लेख गरिएको छ । सरकारले शनिबार आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको हो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार २२:३३