काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि मुलुकको सम्मृद्धिको लागि अत्यन्तै उपयोगी रहेको बताउनुभएको छ । आजदेखि शूरु भएको एनआरएनको दोस्रो विश्व विज्ञ सम्मेलनको भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको सम्मृद्धिको लागि विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली संघले मुलुकको सम्मृद्धिमा महत्वपूर्ण योगदान गरिरहेकोमा प्रशंसा गर्दै मुलुकको सम्मृद्धिमा पुँजीसँगै ज्ञान र सिप आवश्यक भएको र सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई सरकारले कार्यान्वयन गर्न लागिपर्ने उल्लेख गर्नुभयो । अरुले गरेको लगानीभन्दा गैर आवासीय नेपालीले गरेको लगानी माटो सुहाउँने हुने र भावनासँग जोडिएकाले मुलुकको सम्मृद्धिमा सघाउ पुग्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफुले सिकेको ज्ञान, प्रविधी र पूँजी नेपालमा लगानी गर्न तपाईहरु आतुर हुनुहुन्छ, त्यसका लागि नेपाल सरकार जस्तोसुकै वातावरण बनाउन र सहकार्य गर्न तयार छ ।’
कोभिडको सन्दर्भमा नेपालको आयुर्वेधिक औषधीको प्रयोगलाई अगाडि बढाउन र यस विषयमा खोज, अनुसन्धान तथा छलफल चलाउन प्रधानमन्त्रीले एनआरएनलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा जडीबुटीहरुको प्रयोगका बारेमा धेरैभन्दा धरै जानकारी पुग्न सकेको छैन, तपाईहरु अध्ययन अनुसन्धान गर्नुहोस् ।’

उहाँले नेपाली भान्साको परम्परालाई कायम राख्न सके रोगसँग लड्ने सक्षता विकास हुनेसमेत बताउनुभयो । कोभिड १९ को महामारीमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै केही समयभित्र नै कोभिडलाई नियन्त्रणमा लिने प्रयासमा सरकार रहेको बताउनुभयो । नेपाली जनता भोक र रोगले ज्यान गुमाउन नपरोस भनेर सरकार लागिरहेको प्रधानमन्त्रीको भनाई छ ।
सम्मेलनको उद्घाटन सत्रमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहित विभिन्न देशमा रहेका नेपाली राजदूतहरुको सहभागिता रहेको थियो ।
गैर आवासीय नेपाली संघका महासचिव तथा विज्ञ सम्मेलनका संयोजक डा हेमराज शर्माले सम्मेलनमा विश्वभरिका २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहेको जानकारी गराउनुभयो ।
प्रकाशित | २३ आश्विन २०७७, शुक्रबार १८:२१