एनआरएनए सल्लाहकार एसी शेर्पा अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) सल्लाहकार एसी शेर्पा अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूतमा नियुक्त हुनुभएको छ । पहिलो पटक सन् २०१६ मा वाणिज्य दूतमा नियुक्त हुनुभएको शेर्पा महावाणिज्य दूतमा पदोन्नती हुनुभएको हो । शेर्पाको आगामी कार्यकाल चार वर्षको हुनेछ । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले शेर्पासहित विभिन्न देशका १३ जनालाई महावाणीज्य तथा वाणिज्यदूतमा नियुक्त गरेको हो ।

अमेरिकामा रहनु भएको ८ जना महावाणिज्य दूतमध्ये शेर्पा भिसा इस्यू गर्ने २ जनामा पर्नुहुन्छ ।आफनो चार वर्षे कार्यकालमा १ हजार भन्दा बढीलाई भिजा इस्यू गरिएको शेर्पाले बताउनुभयो । यो चार वर्षे अवधिमा १ हजारभन्दा बढीलाई भिजा इस्यू गरेर ५० लाख भन्दा बढी रकम जुटाउन सफल भएको पनि शेर्पाले बताउनुभयो ।

एसी देशका लागि केहि गरौ र नेपाललाई चिनाऔं भन्ने आफनो उद्देश्य सफल भएकोमा खुसी ब्यक्त गर्दै भन्नुहुन्छ, ‘नेपाली समुदायलाई सूचना आदनप्रदान गर्न तथा नेपालको पर्यटन प्रबद्र्धनमा यो अवधिमा महत्वपूर्ण काम भएका छन्। विशेष गरि सरकारले मेरो राम्रो कामलाई विश्वास गरेर दोस्रो पटक नियुक्त गरेकोमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । आगामी दिनमा नेपालीहरुलाई कुनै समस्या परेको खण्डमा नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’

सोलुखोम्बु जिल्ला टाप्टीङ नगरपालिका १० दुधकुण्डामा जन्मे पनि सानैदेखि अमेरिका बस्दै आउनुभएको शेर्पा गैर आवासीय नेपाली संघको समेत एक अभियन्ता हुनुहुन्छ । तन, मन र धन सबै कुरामा सफल शेर्पा गैर आवासीय नेपाली संघमा स्थापनाकालदेखि नै सक्रिय हुनुहुन्छ ।

शेर्पाले सन् २०१० मा पहिलो पटक गैर आवासीय नेपालीको तर्फबाट विश्वको सात हिमालको सफल आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर एनआरएनको झन्डा फरफराउनुभएको थियो । शेर्पाले चढेको दिन गनेर ४२ दिनमा सातै महादेशका अग्लो हिमालमा आरोहण सफल गरेर विश्व कीर्तिमान पनि राख्न सफल हुनुभएको थियो ।

संघको स्थापना सँगै सक्रियतापूर्वक एनआरएन अभियानमा लाग्नुभएको शेर्पाले एनआरएनका विभिन्न भुमिकामा रहेर काम गरिसक्नु भएको छ । शेर्पाले सन् (२०१५–२०१७ ) मा एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक डिआरसी पदमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । गत वर्ष सम्पन्न एनआरएनको महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको शेर्पाले आफनो उम्मेदवारी त्याग गर्नुभएको थियो । त्यसपछि एसी आइसिसी सल्लाहकारमा नियुक्त हुनुभएको थियो ।

नेपालको कुनै पनि प्राकृतिक विपत्तिमा एसीले महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ । नेपालमा भूकम्प जाँदादेखि नेपालमा भएको नाकाबन्दी हुँदै, तराईमा आएको बाढीलगायतका हरेक प्राकृतिक विपत्तिमा एसीको योगदान महत्वपूर्ण रहँदै आएको छ । एसीले सोलुखुम्बुका ११० घरलाई विजुलीको वन्दोवस्त गर्नुभएको छ । साथै नेपालका विभिन्न जिल्लामा हाईडोपावरदेखि लिएर शिक्षा, स्वास्थ्य, क्षेत्रमा शेर्पाको योगदान अतुलनीय छ ।

त्यस्तै, एसीले वर्तमान कोभिड -१९ महामारीमा गैर आवासीय नेपाली संघले खडा गरेको कोभिड- १९ कोषमा ६ लाख आर्थिक सहयोग गर्नुभएको छ भने चितवनमा एनआरएनले सञ्चालन गर्न लागेको ब्लड बैंक बसमा पनि सहयोग गर्नुभएको छ । एनआरएनको हरेक क्षेत्रमा एसीको महत्वपूर्ण योगदान रहँदै आएको छ ।

नोट : यसअघि प्राविधिक कारणवंश क्रुटी हुन गएकोमा सच्याइएको छ -सम्पादक


प्रकाशित | २२ आश्विन २०७७, बिहीबार २०:४२