श्रम स्वीकृति खुल्दै, बोर्डको काम बन्द

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिने श्रम स्वीकृति सोमबारदेखि पुनः सुचारु हुने भएको छ । फ्रन्ट डेक्समै काम गर्ने एक जना कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएपछि असोज १४ गते बुधबारदेखि बन्द भएको सेवा पुनः सञ्चालन हुने कार्यालयले जनाएको हो ।

तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्नसक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी पुनः सेवा सञ्चालन गर्न लागिएको सो कार्यालयका सूचना अधिकार छत्रबहादुर साहले जानकारी दिनुभयो । उहाँले सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरू मापदण्ड पालना गर्न आग्रह गरिने पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुन पानीले हात धुन अनिवार्य गरिएको छ । सूचना अधिकारी साहले पछिल्लो समयमा दैनिक ३००÷३५० जनालाई सेवा दिँदै आएको सो कार्यालयले भिसाको म्याद सकिन लागेकालाई लक्षित गरेर बढीमा सय जनालाई मात्रै सेवा दिने गरी तयारी गरेको बताउनुभयो ।

बोर्डका अधिकांश सेवा बन्द

वैदेशिक रोजगार बोर्डका एक कर्मचारी कोरोना सङ्क्रमित भएपछि आर्थिक सहायता रकम दिनेलगायतका सेवा तत्कालका लागि बन्द गरेको छ । बोर्डले आइतबार सूचना सार्वजनिक गर्दै सबै कर्मचारीको परीक्षण गर्नुपर्ने र रिपोर्ट नआउँदासम्मका लागि उक्त सेवा बन्द गरिएको जनाएको छ ।

बोर्डको सचिवालयबाट हुने अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानी कार्य सुचारु रहने पनि जानकारी गराएको छ । साथै सूचनामा बोर्डबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिन र उक्त निवेदन रुजु गरी सम्बन्धित व्यक्तिको बैङ्क खातामा पठाउन सकिने पनि जनाएको छ । आजको गोरखापत्र दैनीकमा यो खवर छ ।


प्रकाशित | १९ आश्विन २०७७, सोमबार ०९:१२