एनआरएनए युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन शूरु

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रको १३ औं युरोपेली बैठक, ११ औँ क्षेत्रीय महिला भेला तथा दोस्रो यूरोपेली ज्ञान सम्मेलन आजदेखि शूरु हुँदैछ । सम्मेलन आयोजक समिति संयोजक तथा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्नुहुने कार्यक्रम छ । बैठकमा पूर्व मन्त्री डा. प्रकाश शरण महतले पनि सम्बोधन गर्नुहुनेछ । साथै एनआरएनएका पूर्व अध्यक्षहरु क्रमश: उपेन्द्र महत्तो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्, अध्यक्ष कुमार पन्त, संरक्षक रामप्रताप थापा, नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा विज्ञ भेला, महिला भेला, युवा भेला, गोरखार्ज र नेपाली नागरिकताको निरन्तरता लगायतका विभिन्न सेसनहरु सञ्चालन हुँदैछन् । जसको लागि यूरोप क्षेत्रका तीन जना क्षेत्रीय उप संयोजकहरु क्रमश मुक्त गुरुङले एनसीसीहरुको गतिविधी तथा प्रगती प्रतिबेदनको संयोजन, शुक्रराज न्यौपानेले प्रचार प्रसार र मिडियाको संयोजन र कृष्ण तिमील्सिनाले आईसिसीसँग समन्वय गरिरहनु भएको छ ।

महिलाहरुको सेसनको लागि महिला संयोजक योगीता थापा र युबाहरुको लागि युवा संयोेजक जयक्रिष्ण ठाकुरको टिमले समन्वय गर्नुभएको छ ।

दोस्रो यूरोपेली ज्ञान सम्मेलनको लागि राजु अर्यालले संयोजन गर्नुभएको छ । ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न विज्ञहरुको कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

भर्चुअल रूपमा आयोजना हुन लागेको यस वर्षको सम्मेलनको मूल नारा “मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” रहेको छ ।


प्रकाशित | १७ आश्विन २०७७, शनिबार ०८:०९