जहाँ घरैपिच्छे गर्वसाथ राष्ट्रिय झण्डा फहराइएको छ

काठमाडौँ । सबैजसो घरको छानाहरुमा विश्वको एकमात्र चार कुना नभएको नेपालको झण्डा फरफराइरहेको दृश्यले हिजोआज तीनकुने कोटेश्वर सडकखण्डमा यात्रा गर्ने धेरैलाई अचम्ममा पारेको हुनसक्छ । सामान्यतः नेपालीले राष्ट्रिय झण्डा मन्त्रीनिवासमा मात्र फहराइरहेको देखेका हुन्छन् ।

हालै तीनकुनेका नवआदर्श मार्ग, सामुदायिक मार्ग, सुविधा मार्ग, सुमार्ग, गरिमा मार्ग, सुभेच्छा मार्ग र सरस्वती मार्गका चारसय भन्दा बढी घरपरिवारले राष्ट्रिय गौरवको प्रतीक यो सिम्रिक झण्डा उच्च सम्मानका साथ आआफ्नो घरको छानामा फहराएका छन् ।

यो सडकखण्ड भएर दैनिक कार्यालय आउजाउ गर्ने भक्तपुर, गठ्ठाघरकी रञ्जु शर्मा पछिल्लो चार महिनादेखि यी घरका छानाहरुमा झण्डा फहराइरहेको शानदार दृश्यले मोहित हुनुभएको छ ।

‘मलाई थाहा छैन, यो सुकार्यको पहल कसले थाल्यो तर सयौँ घरमा यो विशिष्ट रातो झण्डा फहराएको देख्दा लाग्छ, यसैले हामी सबैलाई एउटै झण्डामुनि एकत्रित गर्छ ।’ शर्माले भन्नुभयो ।

राष्ट्रिय झण्डा फहराउनु राष्ट्रप्रति नागरिक कर्तव्य सम्झाउने र मातृभूमिप्रति आस्था र प्रेम व्यक्त गर्ने प्रतीकात्मक संकेत हो । कोटेश्वर तीनकुनेकी स्थानीय सुमित्रा कडरियालाई झण्डा फहराउने विचार पहिलोपटक त्यतिकै उत्पन्न भएको होइन ।

गएको वर्षको संविधान दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई आआफ्नो घरमा राष्ट्रिय झण्डा फहराएर दिवस मनाउने आग्रह गर्नुभएको वक्तव्य सुनेर उहाँले मनमा यो विचार आयो ।
‘प्रधानमन्त्रीको भाषण सुनेपछि हामीले मात्र आफ्नो घरमा राष्ट्रिय झण्डा फराएका रहेछौँ । त्यतिबेला कानुनले सर्वसाधारणलाई घरमा राष्ट्रिय झण्डा फहराउने अनुमति दिन्छ कि दिँदैन भन्ने अन्योल थियो ।’ कडरियाले भन्नुभयो ।

वडा नं। ३२ को सामुदायिक विकास समितिका अध्यक्षसमेत रहनुभएकी उहाँले भन्नुभयो, ‘त्यसपछि मैले यो अभियान सञ्चालन गर्ने निधो गरेँ, कानुनले राष्ट्रिय गौरवमा आँच नआउने गरी राष्ट्रिय झण्डा फहराउने अनुमति दिन्छ भन्ने कुरा नागरिकले बुझुन् ।’उहाँको यो अवधारणा पहिलोपल्ट सुरु भएपछि स्थानीयले यस अभियानलाई समर्थन गरे । त्यसपछि अभियान पहिलोपटक यसपालिको गणतन्त्र दिवस अर्थात् जेठ १५ गते सुरु गरिएको कडरियाले बताउनुभयो ।

नागरिकहरुमा, विशेष गरी युवा तथा बालबालिकामा देशभक्तिको भावना जगाउनु यो अभियानको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

केही युवाले यो अभियानलाई उहाँको यो अभियानलाई सहयोग गर्न ३५० वटा तयारी झण्डाहरु निःशुल्क उपलब्ध गराएका थिए । ‘यसरी हामीले ३५० घरपरिवारलाई निःशुल्क झण्डा दियौँ । अहिले त झण्डा बिग्रिए ती घरकै मानिसले नयाँ झण्डा फेर्छन् ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार अन्य संघसंस्थाले पनि यो अभियान थालेका छन् ।

राष्ट्रिय झण्डा फहराउनु हरेक नेपालीको लागि गौरव र सम्मानको कुरा भएको यहाँका स्थानीय बलराम मायालु बताउनुहुन्छ । यस वर्षको संविधान दिवसको दुई दिनअघि मायालुले आफ्नो घरको कौसीमा राष्ट्रिय झण्डा फहराउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा झण्डा फहराउनका लागि फहराउने मात्र होइन । बरु हाम्रा पुर्खाहरूको बहादुरी भावना र राष्ट्रिय झण्डालाई निष्ठापूर्वक सम्मान गर्नु हाम्रो जिम्मेवारी हो ।’

मायालु जस्तै यस वडाका चार सयभन्दा बढी घरपरिवारले आफ्नो घरमाथि राष्ट्रिय झण्डा फराई आफ्नो राष्ट्रप्रेम गौरवसाथ दर्शाएका छन् ।

यही स्थानमा बस्ने महान्यायाधिवक्ता अग्नि खरेलले भन्नुभयो, ‘राष्ट्रिय झण्डाको अनादर नगरी सबै नेपाली नागरिकले घरमा राष्ट्रिय झण्डा फहराउन सक्छन् तर राष्ट्रिय झण्डा फहराउने काम निश्चित नियम र कानुनले तोकिएअनुसार हुन्छ ।’

राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले यो अधिकार सुनिश्चित गरेको उहाँले थप्नुभयो । आफ्नो रगत बगाएर हाम्रो स्वतन्त्रताको रक्षा गर्ने इतिहासका बहादुर नेपालीको सम्मानका लागि सबैले घरमाथि राष्ट्रिय झण्डा फहराउनु कडरियाले आग्रह गर्नुभयो । ‘तर झण्डाको कुनै अनादर नहुने सुनिश्चित होस् । उहाँले थप्नुभयो । आजको गोरखापत्र दैनीकमा यो समाचार छ ।


प्रकाशित | १६ आश्विन २०७७, शुक्रबार ०७:१५