इंग्लिस प्रिमियर लिग : उपाधि होडमा रहेको लिभरपुल लन्डन क्लब चेल्सीको सामाना गर्दै

एजेन्सी :  इंग्लिस प्रिमियर लिगमा आज शीर्षस्थानमा रहेको लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति ९ः१५ बजेपछि शुरु हुने छ । उपाधि होडमा रहेको लिभरपुल लन्डन क्लब चेल्सीलाई निराश पार्दै उपाधि जित्ने अभियानलाई थप बलियो बनाउने योजनासहित मैदान उत्रनेछ । प्रिमियर लिग सिजन अन्त्यको संघारमा पुग्दा लिभरपुल एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा २ अंकले अघि छ ।

लिभरपुलको ३३ खेलबाट ८२ तथा सिटीको ३२ खेलबाट ८० अंक रहेको छ । यस्तोमा लिभरपुल चेल्सीलाई पराजित गर्दै अग्रता अझै फराकिलो बनाएर उपाधिलाई थप मजबुत बनाउने लक्ष्यमा हुनेछ । चेल्सीसँगको बराबरी या हारले लिभपुलको उपाधियात्रा कमजोर बन्नेछ । तर, घरेलु मैदानमा पछिल्ला ६ खेलमा लिभरपुलले चेल्सीलाई पराजित गर्न सकेको छैन । जसमा ४ बराबरी र २ हारको नतिजा छ । त्यसैले लिभरपुल चेल्सीसँग सचेत भएर खेल्नेछ । लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टो फिर्मिनो, जोर्डन हेन्डरसन, फविन्हो, एलिसन बेकरजस्ता खोडीहरु रहेका छन् ।

यता, चेल्सी लिभरपुललाई पराजित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगको लागि स्थानलाई सुरक्षित बनाउने अभियानमा हुनेछ । चेल्सी ६६ अंकसहित चौथो स्थानमा रहेको छ । टोटेनहम ६७ अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सीले लिभरपुलसँग पछिल्ला १६ खेलमध्ये मात्रै दुई खेलमा हार बेहोरेको छ । जसमा ६ जित र ८ बराबरीको नतिजा छ ।

चेल्सीसँग इडेन हजार्ड, गोन्जालो हिग्विन, कोलुम हड्सन ओडोइ, ओलिभर जिरुड, एङ्गोलो कान्टे, रोस बार्कली र जगिन्हो जस्ता स्तरीय खेलाडीहरु रहेका छन् । ठुला ६ क्लबसँग चेल्सीले हार भोगेका कारण चेल्सी लिभपुलसँग सचेत भएर खेल्नेछ । यी दुई टोलीको पहिलो राउन्डको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

लिभरपुललाई उपाधितर्फ र चेल्सीलाई च्याम्पियन्स लिगमा स्थान बलियो बनाउन जित आवश्यक छ । त्यसैले दुवै टोलीले जितको लागि सम्पुर्ण शक्ति खर्चने छ । त्यसैले यि दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । आजै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ६ः५० मा हुनेछ । यो खेलमा जित हात पारे सिटीले शीर्षस्थान फर्कदै उपाधि दावेदारीता पेश गर्नेछ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १५:५४