दशै लक्षित सुपथ मूल्य पसल भोलीदेखि खुल्दै, यस्तो छ मूल्य र छुट रकम

काठमाण्डौ : दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर बिहीबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका हुन । अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुपथ मूल्य पसल काठमाण्डौ साथै देशभरका ४९ ठाउँ खोलीनेछ । दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ ।

नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । प्रति परिवार चार किलोका दर तोकिएको छ । सुपथ पसल छठ पर्वको भोलिपल्टसम्म सञ्चालन हुनेछ ।


प्रकाशित | १४ आश्विन २०७७, बुधबार १९:५६