गुल्मी पहिरो अपडेट : दुई जनाको ज्यान गयो, एक जना बेपत्ता

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काका अनुसार मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको हो । बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको जानकारी गराउनुभयो । उहाँले पानी परिरहेकाले अहिले पनि पहिरो खसिरहेको बताउँदै पहिरोले सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या भएको बताउनुभयो । गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका स्थानीयले बताएका छन् ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार १०:४०