विदेशमा कोरोना संक्रमणमुक्त हुने नेपालीको दर उच्च, हालसम्म ३५ हजार ७८ जना निको भए

काठमाडौं : विदेशमा कोरोना संक्रमणबाट मुक्त हुने नेपालीको दर उच्च देखिएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना संक्रमित भएका छन् ।

ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । विदेशमा ४२ देशमा रहेका नेपाली कोरोना संक्रमित भएका हुन ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको सो साता पुष्टि भएको पनि संयोजक सापकोटाले जानकारी गराउनुभयो ।

सापकोटाका अनुसार हालसम्म कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो ।


प्रकाशित | ११ आश्विन २०७७, आईतवार १७:३८