कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा : ऊर्जा मन्त्री पुन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बताउनुभएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिनुभएको हो ।

मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मूल नेतृत्व नभएको महसुस नहुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

‘जति दिन निमित्त कार्यकारीका रूपमा रहनुहुन्छ, म निमित्त हुँ भन्ने सोच नराख्नुस् । तपाईं अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ’, मन्त्री पुनले कोइरालालाई भन्नुभयो ।


प्रकाशित | ९ आश्विन २०७७, शुक्रबार ०९:२७