एकजुट भएर कोरोना प्रभावीतको सहयोगमा जुट्न एनआरएनए अमेरिका अध्यक्ष सुनील साहको अपिल

न्यूर्योक:  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनील साहले विपत्तिको यस घडिमा एकजुट भएर जुट्न
अमेरिकाबासी नेपाली समुदायलाई पुन: अपिल गर्नुभएको छ ।  अध्यक्ष साहले अमेरिकास्थित सम्पूर्ण नेपालीहरुमा आफूले सकेको ठाउँबाट एकजुट भएर कोरोना भाइरस प्रभावीतको सहयोगमा जुटन अपिल गर्नुभएको हो ।

अध्यक्ष साहले एक भिन्न भिन्न ढंगले गर्ने सहयोग र सामूहिक ढंगले गर्ने सहयोगको नतिजामा कयौ गुणा फरक पर्ने भन्दै संकटको बेला सबै एकजुट भएर सहयोगमा जुट्नुपर्ने खाँचो औल्याउनुभयो ।

एक बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘ कोभिड–१९ को संक्रमण रोक्न विश्वका शक्ति राष्ट्रहरुले हर प्रयास गरिरहदा अहिले हामीले गर्ने भनेको आफूलाई सुरक्षित राख्ने हो । आफू र आफ्नो परिवारको सुरक्षामा विशेष जोड दिन पनि म अमेरिकाबासी गैर आवासीय नेपाली समक्ष पुन: हार्दिक अपिल गर्न चाहन्छु ।’

अध्यक्ष साहले संघले आपकालिन राहत कोषको निर्माण गर्दै आर्थिक सहयोग संकलन गरिरहेको समेत जानकारी गराउनुभएको छ । अहिलेसम्म करिव ११ हजार डलर संकलन भैसकेको र यस कोषबाट संघले कोभिड १९ को असरका कारण आर्थिक समस्या सँग जुध्न बाध्य नेपालीहरुलाई सहयोग गर्ने बताउनुभयो ।

अध्यक्ष साहका अनुसार कोषवाबाट समस्यामा परेका विद्यार्थी भाई बहिनी लगायत गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनी हरूलाई करिव ७ हजार सहयोग गरिसकिएको छ ।

गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ को असर देखिएसँगैं सुरुवात देखिनैं जानकारी मुलक सचेतनाको कार्यलाई प्रमुख प्राथमिकता दिएको बताउँदै अध्यक्ष साहले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षाको मापदण्ड र अमेरिकाको संघीय, राज्य तथा स्थानीय सरकारहरुले तय गरेका लकडाउन लगायतका सुरक्षाका उपायहरुलाई मध्यनजर गर्दै एनआरएनए अमेरिकाले विद्युतीय माध्यमवाट सचेतना मुलक कार्यक्रमहरुलाई बढावा दिदैं आएको जानकारी गराउनुभयो ।

अहिले अमेरिकामा रहेका गैर आवासीय नेपाली समस्यामा रहेको र आगामी दिनमा विद्यार्थी लगायत नेपालीलाई पर्न सक्ने अझ बढी समस्या प्रति झनै चिन्तित रहेको भन्दै अध्यक्ष साहले आइसिसी सँग समेत बिशेष सहयोगको निम्ति अनुरोध गर्नुभएको छ ।

साहले भन्नुभएको छ, ‘अहिले अमेरिकाबाट आइसिसीको मुख्य पदहरुमा समेत उत्साहजनक उपस्थिति रहेको छ, त्यसैले आइसिसीबाट यथेष्ठ सहयोग आउने विश्वास हामीले गरेका छौं । सधैं एनआरएनए आइसिसीले बनाउने दिर्घकालिन योजना तथा आइसिसीले आह्वान गरेका सहयोगका कार्यक्रममा एनआरएनए अमेरिकाको तर्फवाट विशेष सहयोग हुँदैं आएको थियो, अहिले आवश्यकता हामीलाई छ त्यो पक्षलाई आइसिसीले बुझ्ने छ भन्ने अपेक्षा हामीले गरेका छौं ।’


प्रकाशित | २४ चैत्र २०७६, सोमबार ११:३३