नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिनुभयो । उहाँले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भन्नुभयो ।

महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ ।

भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहनेछ । नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुग्नुहुन्छ र त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आउनु्हुन्छ भन्नुभयो । अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लाग्नेछ ।

उहाँले दुईटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुनेछ भन्नुभयो ।

कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म दुइटै रेल जयनगरमा राखिने उहाँले बताउनुभयो । रेलको इन्जिन लामो समयसम्म त्यत्तिकै थन्क्याएर राख्न नमिल्ने र बेला बेलामा त्यसको मेकानिकल पार्टस्को ‘मेन्टेनेन्स’ गरिरहनुपर्ने भएको र नेपालमा तत्काल त्यो सेवा उपलब्ध नहुने भएकाले जयनगर स्टेसनमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको उहाँले स्पष्ट पार्नुभयो ।

रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।

रेल्वे लिक हस्तान्तरण

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार असोजभित्र नै भारतले नेपाललाई सो ट्रयाक हस्तान्तरण गर्नेछ । रेल सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइनेभएको छ ।  यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार १०:०३