कोभिडका कारण स्थगीत कक्षा १२ को परीक्षा अनलाइन प्रणालीबाट हुने

काठमाडौं : कोभिड- १९ को कारण हुन नसकेको कक्षा १२ को परीक्षा अन्तत: अनलाईन प्रणालीबाट हुने भएको छ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको हो।

वर्तमान कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले अनलाईन प्रणालीबाट गर्ने गरि सरकारलाई सिफारिस गरेको छ । बोर्डले कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको जनाएको छ ।

बोर्डले सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जनाएको छ । सो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा लगी स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ ।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार १८:५९