ट्रम्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट दोस्रो पटक महाअभियोग पारित हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नु भएको छ ।
बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ ।
गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो । महाअभियोग प्रस्तावमा ट्रम्पकै रिपब्लिकन पार्टीका १० सांसदले मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
ट्रम्पको कार्यकाल सकिन अब एक साता बाँकी छ । माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रस्ताव पारित हुन केही समय लाग्न सक्छ ।
ट्रम्पको कार्यकाल सकिए पनि उहाँ विरूद्धको महाअभियोग सिनेटबाट पनि पारित भए आउने राष्ट्रपतीय चुनावमा उहाँ सहभागी हुन पाउनु हुने छैन ।


प्रकाशित | १ माघ २०७७, बिहीबार ०८:४३