आज लोकतन्त्र दिवस: लोकतन्त्र स्थापना भएको सम्झनामा विविध कार्यक्रम गर्दै मनाइँदै

काठमाण्डौ : आज वैशाख ११ गते, लोकतन्त्र दिवस । २०६२÷०६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । २०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो ।

तत्कालिन राजा  ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो।

सोही समझदारी अनुरुप आन्दोलनको जगमा लोकतन्त्र पुन स्थापना भयो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो । संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापना भए पनि जनतामा भने अझै खुसीयाली छाएको छैन । जनताले साँच्चो अर्थमा परिवर्तनको अनुभूति गर्न सकेको देखिन्न ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०८:४७