छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने, विप्रेषण १५ प्रतिशतले घट्यो

काठमाडौँ –  कोभिड–१९ का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो ।

कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ । प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतमा  जाने माैसमी कामदार बाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलका संयोजक डा. फुयालले त्यसरी फर्किनेमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्था हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर कार्ययोजना अघि सारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट आएका सबैले रोजगारी नै चाहेका हुन्छन् भन्ने हुँदैन । विदेशबाट पैसा लिएर फर्किने, सीप र थोरै पैसा लिएर फर्किने र पैसा सबै गुमाएर फर्किने तीन किसिमका जनशक्ति भएकाले त्यसलाई अध्ययन गरेर सबै गुमाएर फर्किनेलाई प्राथमिकता दिएर उसको क्षमताका आधारमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हो । ”

विप्रेषण १५ प्रतिशतले घट्यो
अध्ययन प्रतिवेदनमा कोभिड–१९ का कारण नेपाल भित्रिने विप्रेषणमा ठूलो नोक्सानी नभएको उल्लेख छ । गत चैतदेखि जेठसम्म स्वदेश तथा विदेशमा गरिएको बन्दाबन्दीमा नेपाल भित्रिने विप्रेषणमध्ये औसतमा १५ प्रतिशत मात्रै घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी भित्रिएको ठूलो परिणामको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा सरकारले थप ३० प्रतिशत रोजगारी सिर्जना गर्ने योजना अघि सारेको डा. फुयालले जानकारी दिनुभयो । उहाँले सिर्जना गरिएका थप ३० प्रतिशत रोजगारीमा विदेशबाट रोजगारी गुमाएर रित्तै फर्किएका ४० प्रतिशत, स्वदेशमा रोजगारी गुमाएर बेरोजगार बनेका ४० प्रतिशत र नयाँ २० प्रतिशतलाई प्राथमिकताका आधारमा रोजगारी उपलब्ध गराइने योजना सरकारको रहेको पनि जानकारी दिनुभयो ।

डा. फुयालले श्रमिक बलियो नभएसम्म उत्पादन राम्रो हुन नसक्ने भएकाले श्रमिक वर्गको सुरक्षालाई ध्यानमा राखेर चालू आवका योजना बनाइएको बताउनुभयो । अध्ययन प्रतिवेदनमा श्रमिकले कस्तो रोजगारी गुमाए, उनीहरूका लागि भोलिका सम्भावित रोजगारका क्षेत्र के कस्ता हुन सक्छन् भन्ने विषय समेटिएको उल्लेख छ ।

डा. फुयालका अनुसार प्रतिवेदन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) हस्तान्तरणको तयारीमा रहेकाले थप कुरा पछि सार्वजनिक गरिने छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र
(सीसीएमसी)ले विदेशी तथा स्वदेशी रोजगारीमा परेका असर, बेरोजगारीको अवस्था र सम्भावित रोजगारीका अवसरका विषयमा अध्ययन गर्न योजना आयोगका सदस्य फुयालको नेतृत्वमा गत वैशाखमा गठन गरिएको हो । कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक÷एक जना सहसचिवको सहभागिता रहेको छ ।   यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २४ भाद्र २०७७, बुधबार ०९:५१