नेपालको विकास र सम्मृद्धिको लागि फराकिलो मन हुन आवश्यक: चिनियाँ राजदुत होउ यान छि

दिनेश दुलाल /फुलपिङकट्टी (सिन्धुपाल्चोक )

नेपालका लागि चिनियाँ राजदुत होउ यान छि ले नेपालको विकास र सम्मृद्धिको लागि सबै नेपालीको फराकिलो मन हुन आवश्यक रहेको बताउनुभएको छ । तातोपानी नाका सञ्चालनको पूर्व सन्ध्यामा भोटेकोशी गाउँपालिका पुगेकी चिनियाँ राजदुत छि ले जनप्रतिनिधि संगको अन्तरक्रिया क्रममा उक्त धारणा राख्नुभको हो ।

आफ्नो मुलुक चिनको भनाईलाई उदृत गर्दै राजदुत छि ले भन्नुभयो, ‘विकास र समृद्घि ल्याउनु छ भने व्यक्तिगत स्वामित्वमा रहेको जमिन त्याग्न सक्ने विशाल हृदय चाहिन्छ ।’ उत्तरी नाका चीन संग जोडिएको सडक अरनिको राजमार्ग प्रति ईगिंत गर्दै राजदुत छि ले विकासको पहिलो मेरुदण्ड सडक सञ्जाल भएकोले सडकलाई फराकिलो बनाउन सडकको अतिक्रमण रोक्नुपर्ने धारणा राख्नुभयो ।

दोस्रो पटक तातोपानी नाका प्रवेश गर्नुभएको राजदुत छि ले सन २०१६ देखि बन्द रहेको तातोपानी नाकाको सञ्चालनमा आफुले निकै चासो दिएको बताउनुभयो । पाँच महिना अघि नेपालको लागि राजदुत हुनुभएको छि ले आफ्नो कार्यकाल शुरु भएको छोटो अवधिमा नाका सञ्चालन हुन लागेकोमा निकै उत्साहित हुँदै भन्नुभयो, ’ नाका सञ्चालनमा तपाईहरु जति खुशी हुनुहुन्छ त्यतिनै मेरो हृदय प्रफुलित भएको छ ।’

नाका सञ्चालन ल्याउनमा निकै अप्ठ्यारा र झन्झटहरु व्यहोर्नु परेको स्मरण गर्दै राजदुत छि ले दुवै देशका उच्च राजनेताहरुको पहल सार्थक रहेको उल्लेख गर्नुभयो । नाका सञ्चालन संगै चीन विरोधी गतिविधि हुन नदिने जनप्रतिनिधिहरुको प्रतिवद्घतालाई स्वागत गर्दै राजदुत छि ले पहिले जस्तै व्यापार व्यवसायमा सहज बनाउन थप व्यवस्थित बनाउन आफु लागि पर्ने प्रतिवद्घता जनाउनुभयो ।

सो क्रममा सिमा क्षेत्रका जनताको लागि शिक्षा, स्वास्थ्य लगाएत आधारभूत आवश्यकताहरुको सन्दर्भमा जनप्रतिनिधिहरुले राखेको प्रस्तावलाई पुरा गरिने बचन दिनुभयो । दुई देशको सम्बन्धलाई अझ प्रागढ र सहज बनाउन चिनयाँ भाषा सिकाईको लागि आफुले प्रयत्न गरिने समेत राजदुत छि ले प्रतिवद्घता जनाउनुभयो ।

औपचारिक रुपमा शुरुवात गरिने नाका सञ्चालनमा पहिलो चरणमा मालबाहक सवारी साधनहरु मात्रै आवातजावत गराउन सकिने राजदुत छि ले जानकारी दिईन । भूकम्प पछि तहसनहस बनेको खासा क्षेत्रको अवस्था र जनताको सुरक्षाको संवेदनसिलतालाई मध्यनजर गर्दै यसो गर्न लागिएको उहाँले बताउनुभयो ।

नाका सञ्चालनको केही समय पछि क्रमशः पहिलेकै अवस्थामा सहज बनाईने राजदुत छि ले जानकारी दिईन । राजदुत छि कै उपस्थितिमा नव निर्मित मितेरी पुल तथा सुख्खा बन्दरगाहको आज औपचारिक रुपमा हस्तान्तरण गरिने कार्यक्रम रहेको अन्र्तराष्ट्रिय सम्बन्ध तथा चीन मामिलाका जानकार डा. रुपक सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल सरकारका पर्यटन तथा उद्योगमन्त्री मात्रिका यादव लगाएत उच्च राजनैतिक नेतृत्व समेत कार्यक्रममा सहभागी हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी गराउनुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०७:५२