अर्थ तथा सञ्चारमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौँ – अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार डा खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पदबाट राजीनामा दिनुभएको हो ।

अर्थ मन्त्रालयमा औपचारिक बिदाइपछि उहाँ सञ्चार मन्त्रालयमा गएर बिदा लिनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभएको हो । डा खतिवडाले राजीनामा बुझाएसँगै आजै आफ्नो निजी निवास फर्कनुभएको छ ।

अब खतिवडाको ठाउँमा राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरिने भएको छ । नेकपा सचिवालय बैठकले बिहीबार गौतमले पठाउने निर्णय गरेपछि डा खतिवडा बाहिरिनु भएको हो ।

खतिवडाको राष्ट्रियसभा सदस्य पद छ महिनाअघि नै सकिएपनि सदस्य नरहेको ६ महिनासम्म मन्त्री बन्न पाउँने संवैधानीक ब्यवस्था थियो । उहाँको कार्यकाल शनिबार राति १२ बजे सकिदैं थियो ।


प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार १९:०३