भदौ १६ गतेदेखि शर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरिने

काठमाडौं – सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ १६ गतेदेखि शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । प्रवक्ता खतिवडाका अनुसार पर्यटन मन्त्रालयले दैनिक ५०० यात्रु नकट्ने गरी पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको र संक्रमण भएपनि सजिलै पीसीआर परीक्षण हुने मुलुकबाट मात्र जहाज नेपाल आउन सक्ने गरी तालिका बनाउनेछ ।

मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा खुला गर्ने तयारी छ । तर सरकारले पीसीआर परीक्षण सहज नभएका मुलुकमा रहेका नेपालीलाई नियमित उडानमा नल्याउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता खतिवडाले पीसीआर सहज नभएका मुलुक साउदी, कुवेत र कतारबाट नियमित उडानमा यात्रु ल्याउन नपाउने निर्णय गरिएको बताउँदै कूटनीतिक नियोगबाट सिफारिस गरेका यात्रुलाई भने चार्टर्ड उडानमार्फत ल्याइने जानकारी गराउनुभयो ।

नियमित उडानबाट आउने नागरिक, कूटनीतिक नियोगका कर्मचारीले अनिवार्य रुपमा ७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ। काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । घर गईसकेपछि उनीहरु घरमै क्वारन्टिनमा बस्नुपर्नेछ ।


प्रकाशित | ५ भाद्र २०७७, शुक्रबार १९:१५