नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह उदाउँदाे सूर्य

काठमाडौं । निर्वाचन आयोगले नेकपा–एमाले नामको नयाँ राजनीतिक दल दर्ता गरेको छ। तत्कालीन नेकपा–एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएपछि एकीकृत मार्क्सवादी लेनिनवादी एमाले थिएन ।

तर गत असार १२ गते सन्ध्या तिवारीको नेतृत्वमा एक समुहले नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । कानुन अनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ । यो दललाई निर्वाचन चिन्हको रुपमा डाँडामाथि उदाउँदो आधा सूर्य दिइनेछ।

यो दल दर्ताको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र विवाद भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीकै ईशारामा दल दर्ताको निवेदन परेको आरोप लगाउनुभएको थियोे । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय हुनुहुन्छ ।


प्रकाशित | ३ भाद्र २०७७, बुधबार २०:२१