एनआरएनएको सुदुर पश्चिम मोबाइल ब्लड बैंकलाई अफ्रिकाका धनाढ्य रुपारेलियाबाट दुई लाख पचास हजार सहयोग

लेगोस, नाइजेरिया । गैर आवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उधोगपती डा. सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गर्नुभएको छ ।

एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार प्रख्यात उधोगपती डा। सुधीर रुपारेलियाले दुई लाख पचास हजार सहयोग गर्नुभएको हो ।

एनआरएनएले सम्पुर्ण आधुनिक सुबिधा सहितको घुम्ती ब्लड बैंक बस रक्त संकलनमा सहयोग पुर्याउने लक्ष्य साथ यस अघि चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने अबको दोश्रो बस सुदुर पश्चिम प्रदेशका लागि कैलाली रेडक्रस , धनगढीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

युगान्डाका उधोगपती डाक्टर रुपारेलिया पुर्वी अफ्रिकाकै सबैभन्दा धनी ब्यक्ती हुन भने नेपालका तर्फबाट युगान्डाका लागि मानार्थ बाणिज्य दुत पनि हुन । नेपाल र नेपालीलाई असाध्यै माया गर्ने रुपारेलिया अफ्रिकाका नेपालीलाई अप्ठ्यारो पर्दा सधै सहयोग र संरक्षण गरि रहेका हुन्छन ।

करिब ६१ लाख कर छुट सहित खरिद मुल्य पर्ने उक्त दोश्रो बसको लागि हाल एनआरएनएले संसारभरबाट सहयोग संकलन जुटाइ रहेको छ । एनआरएनहरु , सहयोगी दाताहरु विशेषत डायस्पोरामा रहेका सुदुर पश्चिम समाजहरु यस अभियानमा क्रियाशिल छन ।

हालसम्म बीस लाख भन्दा बढीको सहयोग प्रतिबद्धता जुटी सकेको छ र सहयोग संकलन अभियान तिब्र रुपमा संचालन भइ रहेको छ ।


प्रकाशित | २२ फाल्गुन २०७७, शनिबार ११:४७