नेपालको झण्डा जलाएर भिडियो बनाउने नौ जना पक्राउ

काठमाण्डौ – नेपालको झण्डा जलाएर भिडियो बनाउने नौ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । विभिन्न समुदायमाथि गालीगलौज गर्दै नेपालको झण्डा जलाएको दृश्य समावेश गरेर म्युजिक भिडियो बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउने, गाउने, झण्डा जलाउने र भिडियोमा मुख्य अभिनय गर्ने ग्लाल्जेन दोर्जे तामाङसहित क्यामेरापर्सन, भिडियो सम्पादक र मोडल प्रक्राउ परेका हुन । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडियो अपलोड भएको थियो । भिडियोमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ ।

म्युजिक भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पृथ्वीनारायण शाह, पूर्व प्रधानमन्त्री वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र पूर्व राजा ज्ञानेन्द्र शाहको तस्विर पनि जलाइएको छ ।

म्युजिक भिडियोको सुटिङ मकवानपुरको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित | ३ भाद्र २०७७, बुधबार १३:३१