राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको हो । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँको घरमै उपचार गरिएको थियो ।

घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेकाे बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार २०:२७