एक महिनासम्म हुने आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा शुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजाराधना आजदेखि शुरु भएको छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाशदीप दान गरिन्छ । कार्तिक स्नानसहित एक महिनासम्म तुलसीको विशेष पूजा र आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।

यस अविधमा स्नान गरी घर-घरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

कार्तिक स्नान गर्नेले पूरा अवधिभर दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ ।


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार १४:५४