नेपालमा लकडाउन अवधिमा ६ अर्ब बराबरको औषधि आयात

काठमाडौँ : नेपालमा लकडाउन अवधिमा ६ अर्ब वरावरको औषधि आयात भएको पाइएको छ । गत चैत ११ गतेदेखि भएको लकडाउनको अवधिमा ६ अर्ब बराबरको औषधि आयात भएको हो । यो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।

यो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।

उहाँका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो हप्तादेखि दशौँ हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौँ उपत्यकामा तीन हजार ८९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ ।


प्रकाशित | ५ असार २०७७, शुक्रबार ०८:४७