च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार

एजेन्सी – च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले शर्मनाक हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । जितसंगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो । हारसंगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिताबाट बाहिरिएको छ ।

मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाकाे आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । २८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए ।

सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफकाे खेल बायर्नको नियन्त्रणमा राखेका थिए । दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो ।

५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे।
त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।

पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो ।

बायर्नसंगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ । च्याम्पियन्स लिगबाट समेत बाहिरिएपछि यस सिजन बार्सिलोनाका लागि निकै खराब रह्यो । यस सिजनको बुन्डेसलिगा च्याम्यिन बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।


प्रकाशित | ३१ श्रावण २०७७, शनिबार ०९:१३