हवाइ सेवा सञ्चालन गर्न नदिए आन्दोलन गर्ने वायु सेवा सञ्चालकको चेतावनी

काठमाडौं – वायु सेवा सञ्चालकहरुले भदौ १६ गतेदेखि हवाइ सेवा सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति जारी गर्दै भदौ १६ गतेदेखि हवाई उडान नखोले आन्दोलनको चेतावनी दिएका हुन ।

चैतदेखि नै हवाई सेवा बन्द हुँदा हवाई उद्योग धरासायी बनेको र श्रमिक तथा आश्रति परिवारलाई असर गरेको ‍भन्दै सञ्चालकले उडान खुलाउन माग गरेका हुन् ।

आन्तरिक उडान चैत ११ गतेदेखि र अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि बन्द छ । सरकारले यसअघि भदौ १ गतेदेखि हवाई उडान शुरु गर्ने निर्णय गरे पनि कोरोना संक्रमण बढ्दै गएपछि त्यसलाई लम्बाएर भदौ १६ पुर्‍याएको छ ।

तर संघले भने आफूहरुले भदौ १ गतेबाटै सेवा सञ्चालन गर्न तयार अवस्थामा रहेको भन्दै पुनः १५ दिनको प्रतिवन्धले अन्याय गरेको बताएको छ । सबै मापदण्ड अपनाउँदा आन्तरिक उडानले संक्रमण नफैलने भन्दै तत्काल सेवा सुचारु गर्नुपर्ने संघले माग गरेको छ ।


प्रकाशित | २८ श्रावण २०७७, बुधबार २०:०४