नेपालमा थप ४८४ जनामा कोरोना पुष्टि, थप ८ जनाको निधन

काठमाडौं – नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४८१ जनाको परिक्षण गरिएकोमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

उपत्यकामा १३८ थपिए

उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थप ८ जनाको निधन

त्यस्तै, पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको निधन भएको छ । यो सहित निधन हुनेको संख्या ९१ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।


प्रकाशित | २८ श्रावण २०७७, बुधबार १६:४९