विमल चम्किदा मनाङको विजयी सुरुवात

काठमाडौं: साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।

मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए। यस्तै विमलले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए । उनले विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई सदुपयोग गरे । खेलमा विमल म्यान अफ दि म्याच चुनिए । जितसँगै मनाङले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।


प्रकाशित | २ पुष २०७६, बुधबार १८:२६