सुनको भाउ एकैदिन ६ हजार २ सयले घट्यो, प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार

काठमाडौं – पछिल्लो समय उकालो लागिरहेको सुनको भाउ आज एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ९५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

कोरोना कहर शुरु भएसँगै सुनको भाउ दैनिक बढेर गत २३ गते अहिलेसम्मकै उच्च तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर त्यसपछि भने सुनको भाउ घट्न थालेको हो ।

आज एकै दिन तोलामा ६ हजार २ सय घटेर सुन तोलाको ५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १८ सय ८० डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ता पछिल्लो पटक सुनप्रति आकर्षित भएका थिए ।

जसले गर्दा माग बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । तर महँगो भएर माग घटेपछि अहिले अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ तल झर्न थालेको छ ।


प्रकाशित | २८ श्रावण २०७७, बुधबार १३:०४