नेविसंघ र छात्रा नेतृत्व

एलिजा ढकाल 

नेपाल विद्यार्थी संघ लामो र संघर्षपूर्ण इतिहास बोकेको विद्यार्थी संगठन हो । समय यस्तो पनि थियो, जनतालाई आन्दोलित हुन र संगठित हुन प्रतिबन्ध थियो । राणाले जनताको सामान्यभन्दा सामान्य स्वतन्त्रता हनन गरेका थिए । नेपाली कांग्रेसले जनतासम्म पुग्न र प्रजातान्त्रिक आन्दोलन चर्काउन एउटा विशेष शक्तिको आवश्यकता महसुस गरी नेविसंघको स्थापना भएको थियो । यसलाई प्रजातान्त्रिक आन्दोलनको माध्यम बनाइएको थियो । यस्तो गर्विलो इतिहास बोकेको नेपाली कांग्रेसको भातृसंगठनको १२औँ महाधिवेशन हुन नसक्दा संगठन इतिहासको त्यस्तो घडीमा आइपुगेको छ, जहाँ ऊ आफैँ घाइते छ ।

पुरातनपन्थबाट घाइते समाजको प्रजातान्त्रिक उपचार गर्ने अभियानमा लागेको नेविसंघ र नेपाली कांग्रेस महाधिवेशन नगरी तदर्थ समितिमै खुम्चन पुग्दा के त्यसले समाजमा राम्रो सन्देश दिन सकेको छ रु भन्नेबारे पार्टी नेतृत्वले गम्भीरतापूवर्क सोच्नुपर्ने भएको छ । अहिले नेविसंघको सम्पूर्ण निर्णायक अधिकार पार्टीमा निहित छ । तर, पार्टी यतिवेला बिउँझेको अनुभूति नेविसंघका नेता–कार्यकर्ताले गर्न सकेका छैनन् । सबैमा निराशा छाएको छ र किंकर्तव्यविमूढ भई घरदेखि कार्यालय र कार्यालयदेखि घरको यात्रा गर्न विद्यार्थी नेता बाध्य छन् । आगामी नेतृत्वबारे चर्चा भइरहदाँ नेविसंघमा छात्रा सहभागिताको बारेमा पनि हामीले बहस गर्नु जरुरी छ ।

पूर्वएमालेनिकट भ्रातृसंगठन अनेरास्ववियुले दुईपटक महिला अध्यक्ष बनाउँदा पनि नेविसंघमा अझै यो विषय उदार हुन सकेको छैन । प्रजातान्त्रिक आन्दोलनमा उदार विचारलाई अघि बढाउने नेतृत्वले यसबारे सोच्न सकेको छैन भनेर कसरी भन्ने रु तर, व्यवहारमा त्यसको अनुभूति हामीले कहिले गर्ने रु द्वारिकादेवी ठकुरानी, जसले नेपाली राजनीतिमा इतिहास रचिन्, के उनले नेपाली कांग्रेसले बोकेको विचार र सिद्धान्तलाई अघि बढाउन भूमिका खेलिनन् ?
त्यस्तै, शैलजा आचार्यले पनि पहिलो महिला उपप्रधानमन्त्री भएर इतिहास लेखिन्, तर विद्यार्थी राजनीतिमा महिलालाई अझै पनि नेतृत्व दिनुहुँदैन भन्ने मानसिकता हावी भएको पाइन्छ । अवसरले चुनौती र चुनौतीले योग्यता निर्माणमा दबाब सिर्जना गर्छ । जतिवेलासम्म महिला नेतृत्व विद्यार्थी राजनीतिबाट अघि बढ्दैन, तबसम्म कसरी नेपाली कांग्रेसले महिला नेतृत्वलाई अघि बढाउने रु महिला नेतृत्वको कुरा गर्दै गर्दा हामीले छिमेकी मुलुक भारतकी इन्दिरा गान्धीको नेतृत्वलाई भुल्न मिल्दैन ।

महिला नेतृत्वबारे चर्चा गर्दै गर्दा क्षमताहीन महिलालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने होइन । राजनीतिमा महिला–पुरुष भन्दा पनि विचार र क्षमताका आधारमा नेतृत्व चयन गरिनुपर्छ । तर, क्षमतालाई लिंगका आधारमा पछि पारिनु गलत हो । पुरुष, पुरुष भएकै कारण सक्षम हुने र महिला, महिला भएको कारण असक्षम हुने कमजोर मानसिकताको उपज हो ।

यदि पुरुष भएकै आधारमा सशक्त र नेतृत्वदायी हुन्छन् भन्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारी, शेख हसिना बाजेद, बेगम खालिदा जिया, बेनेजिर भुट्टो, सिरिमाओ बन्दरानायकेलाई के भन्ने रु त्यसो त प्रतिनिधित्वका नाममा महिलालाई अघि बढाउने प्रवृत्ति हावी देखिन्छ, त्यसको अन्त्य हुनु जरुरी छ । विद्यार्थी परिवर्तनका संवाहक हुन् । त्यसैले हामी विद्यार्थी साँघुरो सोचको घेराबाट बाहिर निस्कनुपर्छ । अब नेविसंघका नेतृहरू क्याम्पसमा वैचारिक रूपमा, सडकमा सशक्त रूपमा, दरिलो आत्मबल र बुलन्द आवाज लिएर समाज परिवर्तनको दिशामा प्रतिबद्ध भएर लाग्नुपर्छ ।

(ढकाल नेविसंघ निवर्तमान केन्द्रीय सदस्य हुन्)


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ११:४९