एनआरएनएमा अब अनलाइन भोटिङ र सदस्यता नि:शूल्क

अधिकांश एनसिसीको पनि समर्थन

काठमाडौं – गैर आवासीय नेपाली संघ चुनावी प्रणालीलाई ब्यापक परिवर्तन गर्न लागिपरेको छ । संघको गौरवमय इतिहासमा पछिल्लो समय चुनावी प्रणालीमा देखिएको कमजोरीले गम्भिर प्रश्न चिन्ह्र खडा भइरहँदा वर्तमान कार्यसमिति चुनावी प्रणालीमा ब्यापक परिवर्तन गर्न लागिपरेको हो ।

चुनावी प्रणालीमा देखिएको कमजोरीले झाँगीएको विकृति अन्त्य गर्न संघले एनसिसीस्तरमा पनि छलफललाई ब्यापक बनाएको छ । विशेष गरि अनलाइन भोटिङ र पञ्जीकृत सदस्यता निशुल्क गर्ने विषयमा एनसिसीस्तरमा छलफल थालनी गरिएको हो । विश्वभरिका एनसिसीस्तरमा अहिले यो छलफलले ब्यापकता पाएको छ । सदस्यता निशुल्क गर्दा अपनाउनुपर्ने वैकल्पिक आर्थिक स्रोत ब्यवस्थापनको विषयमा पनि छलफल भएको छ ।

वर्तमान अध्यक्ष कुमार पन्तले चुनावमा आफनो अजेन्डाका रुपमा चुनावी प्रणालीलाई परिवर्तन गर्ने र एनआरएनएभित्र देखिएको विकृति अन्त्य गरिछाड्ने उद्घोष गर्नुभएको थियो जुन प्रतिबद्धताअनुसार अध्यक्ष पन्तले एनसिसीस्तरमा छलफल थाल्नुभएको हो । आइसिसीस्तरमा सबै एकमत रहेको स्रो प्रस्तावमा एनसिसीस्तरमा पनि अष्ट्रेलियाबाहेक अधिकांशले समर्थन जनाएका छन् ।

अध्यक्ष पन्तले गत शनिवार गैर आवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी तथा संघका राष्ट्रिय परिषदका अध्यक्ष र महासचिवहरु बीच सो विषयमा प्रारम्भिक चरणमा छलफल चलाउनुभएको थियो । सो छलफलमा अधिकांशले अनलाइन भोटिङ र निःशुल्क सदस्यता वितरण तथा संघको आगामी निर्वाचनमा प्रकृयाका विषयमा आइसिसीले राखेको प्रस्तावमा सहमती जनाएका हुन ।

छलफलमा गैर आवासीय नेपाली संघ बेलायत, अमेरिका, क्यानाडा, जापान, अष्ट्रेलिया, थाइल्याण्ड, हङ्गकंङ्ग, जर्मनी, बेल्जियम, पोर्चुगल, कतार, यूएई, बहराइनसहित मध्य पूर्वका विभिन्न एनसिसीहरु र मलेसियालगायत अधिकांश युरोप, अमेरिका, एशियन, अफ्रिकी क्षेत्रमा रहेका राष्ट्रिय समितिहरुले निर्वाचन प्रणालीमा सुधारको खाँचो दर्शाएका थिए । तर एनआरएनए अष्ट्रेलियाले निशुल्क सदस्यताको विषयमा असहमती जनाएको थियो ।

साथै तत्कालको लागि संस्था चलाउन अत्यन्तै गाह्रो अवस्थामा रहेका एनसिसीले बढीमा ५ डलर लिन पाइने र आगामी निर्वाचनमा भने वैकल्पिक स्रोत ब्यवस्थापन गर्न तयार देखिएका छन् । साथै सम्भव भएका एनसिसीले सदस्यता शुल्क अहिलेदेखि नै नलिन पनि राजी भएका छन् ।

त्यस्तै, संघको आगामी १० औं अन्तराष्ट्रिय सम्मेलन र राष्ट्रिय महाधिवेशनको लागि हुने निर्वाचनमा नेतृत्व चयनमा हुने मतदान समेत अनलाइनबाटै गर्ने प्रकृयामा पनि छलफल शूरु भएको छ । एनसिसीस्तरमा छलफल गरेपछि सदस्यता वितरण, महाधिवेशन प्रतिनिधी, निर्वाचन प्रकृयालगायतका विषयमा प्रस्ताव तयार गरी आगामी विशेष महाधिवेशनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

अब अनलाईन प्रणाली लागू भएपछि आफना नेतृत्व चुन्न काठमाडौं पुग्नुपर्ने छैन । आफू जहाँ रहे पनि त्यहीँबाट अनलाइन प्रणालीमार्फत भोट हाल्न सकिनेछ । अनलाइनबाट भोट हाल्न पाइने भएपछि नेपालमा लाखौ खर्च गरि चुनावको लागि आउनुपर्ने बाध्यता हटेर जाने देखिएको छ ।

साथै छलफलका क्रममा कयौं राष्ट्रिय समितिका पदाधिकारीले अन्तराष्ट्रिय सम्मेलनको लागि जाने प्रतिनिधि शुल्क, उम्मेदवारी शुल्कसमेत निःशुल्क हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल बसेर चुनावी धन्दा चलाउनेका दिन गए

एनआरएनएमा पछिल्लो समय चुनावमा देखिएका विकृतिले संस्थाको छवी नराम्ररी धमिलीएको छ । विशेष गरि चुनावको बेला देखिने हत्कण्डाले एनआरएनका इमानदार ब्यक्तीत्वहरु चिन्तित हुँने गरेका छन् । भोटको लागि नेताहरु र होटलका कोठा कोठा चार्हाने, भेडाबाख्रा जस्तो गरि मत खरिद बिक्री हुने अवस्थाले एनआरएनमा पढेलेखेका, योगदान गरेका र खर्च गर्न नसक्ने ब्यक्तीहरु संस्थाको नेतृत्वमा आउँनबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भइरहेको देखिन्छ ।

साथै नेपालमा बसेर चुनावको बेला दलालीको जस्तो भोट खरिद बिक्री गर्ने प्रवृत्तिको समेत अन्त्य हुने देखिन्छ । दुई वर्षसम्म एनआरएनको कुनै गतिविधीमा नदेखिने र एनआरएनमा योगदान शुन्य रहेका ब्यक्तीहरु नेपालमा बसेर दलाली गर्दै भोट खरिद विक्री गर्ने गरेको पाइएपछि वर्तमान कार्यसमितिले चुनावी प्रणालीलाई जसरी पनि सुधार गर्न लागिपरेको हो ।

निर्वाचनमा देखिएका विकृति अन्त्य गरेरै छाड्छौं -कुमार पन्त

अध्यक्ष पन्तले अनलाइन भोटिङ र सदस्यता निशूल्क गर्ने विषयमा एनसिसीस्तरमा छलफल थालीएको बताउनुभयो । अनलाइन भोटिङ र सदस्यता निशूल्क गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउँदै अध्यक्ष पन्तले आइसिसीको सो प्रस्तावमा अधिकांश एनसिसीले समर्थन जनाएको बताउनुभयो

नेपालमा प्रतिनिधिहरु गएर चुनाव गर्दा विभिन्न समस्याहरु देखिएको, ठूलो खर्च गरेर आउनुपर्ने बाध्यता रहेकाले यसलाई हटाउन लागिएको उहाँले बताउनुभयो । ‘अनलाइन प्रविधिमा रुपान्तरण गर्दा नेपालमा गएर लाइन बसेर भोट हाल्नुपर्ने अवस्था रहँदैन । जो जहाँ हुनुहुन्छ, त्यहीँबाट अनलाइन प्रणालीमार्फत भोट हाल्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘अनलाइनबाट भोट हाल्ने भएपछि नेपालमा जानु परेन ।’

अध्यक्ष पन्तले संस्थामा धेरै सुधारको खाँचो रहेको भन्दै निर्वाचनमा देखिएका विकृति अन्त्य गरेरै छाड्ने प्रतिबद्धता समेत दोहोर्याउनुभयो । आफूले निर्वाचन घोषणापत्रमा निशुल्क सदस्यता र अनलाइन भोटिगं कार्यान्वयन गर्ने विषयमा स्पष्ट उल्लेख गरेको भन्दै निर्वाचनमा झोलाभरि पैसा बोक्ने, पैसा प्रयोग गरेर निर्वाचन आफनो हातमा पार्ने वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गरेरै छाड्ने र सोहीअनुसार आफू अगाडि बढिरहेको जानकारी गराउनुभयो ।

एनआरएनमा पञ्जीकृत सदस्यता बन्न पैसा नलाग्ने गरि कार्ययोजनालाई कार्यान्वयन गर्न लागिपरेको अध्यक्ष पन्तले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो, ‘प्रविधिको जमानामा घन्टौ लाईनमा बसेर काठमाडौंमा गएर किन भोट हाल्नुपर्यो, अब घरघरबाटै भोट हाल्न सकिने र आफनो नेतृत्व चयन गर्न सकिने गरि निर्वाचन प्रणाली परिवर्तन गरिन्छ ।’

अब घरमै बसेर अनलाइन भोट गर्न सकिने प्रणालीका लागि स्मार्ट एनआरएनको सबै प्रक्रिया अगाडि बढिसकेको समेत अध्यक्ष पन्तले जानकारी गराउनुभयो । स्मार्ट एनआरएनको महत्वपूर्ण काम सम्पन्न भइसकेको पन्तको भनाइ छ ।

निर्वाचनमा देखिएका विकृतिप्रति सचेत नभए एनआरएनएको भविष्यमाथि प्रश्नचिन्ह्र खडा हुने भन्दै निर्वाचन जित्नको लागि टिकट काटेर काठमाडौं लग्ने,, पैसा खर्च गरेर पञ्जीकृत सदस्य बनाइएको मान्छेले विवेकको प्रयोग गर्छ कि गर्दैन भन्ने अनुमान सहजै गर्न सकिने समेत बताउनुभयो ।


प्रकाशित | २० श्रावण २०७७, मंगलवार २१:१५