पशुपतिनाथको मन्दिर ९ महिनापछि खुल्ला

काठमाडौँ । पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि खोलिएको हो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन्। अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था गरिएको छ ।

भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु नहुने पशुपति विकास कोषले जनाएको छ ।


प्रकाशित | १ पुष २०७७, बुधबार ०७:२९