ओली र प्रचण्डबीच साक्षीसहित तीन घन्टा वार्ता, छलफललाई जारी राख्ने सहमती

काठमाण्डौ –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब तीन घण्टा भएको छलफल पनि निस्कर्षविहीन बनेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर बसेको दुई नेताबीचको छलफल निस्कर्षविहिन बनेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै सहमति नभएपनि दुई अध्यक्षबीच सम्बादको थालनी भने शुरु भएको छ । दुवै जना आजको छलफलमा लचिलो रुपमा प्रस्तुत भएको र सकारात्मक शुरुवात भएको भएपनि ठोस निस्कर्ष भने ननिस्केको नेताहरुले बताएका छन् ।

दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। ओली र अध्यक्ष प्रचण्डबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच तिक्तता आएको थियो। दुई अध्यक्षबीचको संवादहीनता तोड्न महासचिव विष्णुप्रसाद पौडेलले सक्रियता देखाएका थिए। यसबीचमा पौडेलले ओली र प्रचण्डको सन्देश लिएर बालुवाटार र खुमलटार ओहोरदोहोर गर्नुभएको थियो ।

पार्टीभित्रको विवाद साम्य नभएपछि गएको असार १० देखि शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध छ। साउन १३ मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगन गरेपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालको सहयोगमा बैठक बसाल्नुभएको थियो ।

बहुमत प्राप्त स्थायी कमिटी बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो । बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन ।


प्रकाशित | १८ श्रावण २०७७, आईतवार १६:११