थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग : विस्फोटक पदार्थको अभाव

भउचप्रसाद यादव /काठमाडौँ 

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग निर्माणका लागि शिलान्यास भएको आठ महिना पुग्नै लाग्दा पनि विस्फोटक पदार्थको अभावमा काम अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक २४ गते सुरुङ मार्गको शिलान्यास गर्नुभएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमा प्रयोग गर्ने विस्फोटक पदार्थ नेपाली सेनाको प्रयोग गर्ने वा बाहिरबाट ल्याउने भन्ने टुङ्गो नलाग्दा अहिलेसम्म काम सुरु हुन नसकेको हो ।

विस्फोटक पदार्थ उपलब्ध गराउन गएको असोजदेखि प्रक्रिया सुरु गरिएको थियो । यस विषयमा रक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाली सेना, सडक विभागबीच यसअघि एक दर्जनभन्दा बढी बैठक बसे पनि अहिलेसम्म कुनै निष्कर्ष आएको छैन । निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले भारतबाट विस्फोटक पदार्थ ल्याउन चाहेको छ भने नेपाली सेनाले भने आफैँले बनाएको विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने मनसाय राखेको छ । सेनाको विस्फोटक पदार्थले अहिलेसम्म गुणस्तर प्रमाणपत्र प्राप्त गर्न नसकेको तथा कुनै सुरुङ मार्ग निर्माणमा प्रयोग नभएको भन्दै निर्माण कम्पनीले सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ लिन अस्वीकार गर्दै आएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले विस्फोटक पदार्थको अभावमा थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग निर्माण अगाडि बढ्न नसकेको बताउनुभयो । सुरुङ मार्ग निर्माणमा करिब २० करोड रुपियाँ बराबरको नौ सय टन विस्फोटक पदार्थ आवश्यक देखिएको छ ।‘‘सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ ‘एसपेसिफिक’ हुने गर्दछ जुन नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थले ‘मिट’ गर्दैन भन्ने निर्माण कम्पनीको भनाइ छ’’ महाशाखाका प्रमुख थापाले भन्नुभयो, ‘‘सुरुङमार्गको ‘ब्लास्टिङ’ एकदम संवेदनशील हुन्छ, सुरुङ मार्ग निर्माणको क्रममा ‘कन्ट्रोल ब्लास्टिङ’ गराउनुपर्छ, त्यहाँ तोकिएको भन्दा कम वा बढी ‘ब्लास्टिङ’ हुनुहुँदैन, जुन नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थबाट सम्भव नदेखिएको निर्माण कम्पनीले जनाएको छ ।’’

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि विदेशबाट विस्फोटक पदार्थ ल्याउन निर्माण कम्पनीले माग गरेको अनुमतिबारे तत्काल आफूलाई केही जानकारी नभएको बताउनुभयो । सेनाले अनुमति दिएको अवस्थामा पनि भारतबाट विष्फोटक पदार्थ ल्याउनका लागि प्रक्रिया पूरा गर्न चार महिना लाग्ने भएको हुनाले चालू आर्थिक वर्षमा सो सुरुङ मार्गको निर्माण कार्य सुरु हुने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । सरकारको नीति तथा कार्यक्रममा कुल लम्बाई २.७ किलोमिटर रहेको यस सुरुङ मार्गको आर्थिक वर्ष २०७७÷७८ मा एक किलोमिटर निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

उपकरण नेपाल आइपुग्यो

उक्त सुरुङ मार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण भने वीरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । उपकरण अबको एक हप्ताभित्र नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुग्ने महाशाखा प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिनलगायतका करिब चार अर्ब रुपियाँ बराबरको उपकरणहरू जापानबाट नेपाल आउन लागेको हो । निर्माण उपकरणहरू आयोजना स्थलसम्म आइपुगे पनि विष्फोटक पदार्थको अभावमा काम सुरु हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

ढिला भए अर्ब जरिवाना

सम्झौता अनुसार नेपालका कारण निर्माण प्रक्रियामा ढिलो भएको अवस्थामा नेपालले अर्बौं रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने महाशाखा प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार आयोजना स्थलमा निर्माण कम्पनीको जनशक्ति, उपकरण काम नगरी त्यतिकै बसेको अवस्थामा तथा निर्माण सामग्रीको बजार मूल्य बढ्दै गएको अवस्थामा पनि नेपालले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । अहिले आयोजना स्थलमा निर्माण कम्पनीका १२ जना इन्जिनियर कामविहीन छन् । करिब २.७ किलोमिटर लम्बाइको यो सुरुङ मार्ग जापान सहयोग नियोग (जाइका) को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट छ अर्ब व्यहोरेर निर्माण थालिएको हो ।  आजको गोरखापत्र दैनीकबाट


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार १०:५१