मुस्लिम धर्मावलम्बीहरु बकर ईद पर्व हर्षोल्लासका साथ मनाउँदै

काठमाडौं – मुस्लिम धर्मावलम्बीले बकर ईद पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रूपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौं दिन यो पर्व मनाउने गरिन्छ। आज नेपाली मुस्लिम धर्मावलम्बीहरूले बकर ईदका अवसरमा नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्।

यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ। बकर ईदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्ने चलन छ । तर यो वर्ष कोरोना संक्रमणको जोखिम उच्च रहेकाले घरमै बसेर नमाज पढ्न आग्रह गरिएको छ । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदका अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले मुस्लिम धर्मावलम्बीको यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिनुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीबीचको आपसी एकता र सद्भावका लागि यो पर्वले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा आेलीले बकर इद् (ईदुल जाेहा) का अवसरमा दिनुभएकाे शुभकामना सन्देश

शुभकामना

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर–इद् (ईदुल जोहा)का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका ईस्लाम धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

बकर–ईद्लाई करिव चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झना स्वरूप मनाइने पर्वका रुपमा लिइन्छ । यसै दिनदेखि हिजारी संवतको नयाँ बर्षको सुरूवात हुनेगर्दछ । गरिव तथा असहायलाई दान गर्ने परम्पार पनि यस पर्वसँग जोडिएको छ ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवद्र्धन गर्दै आएका छन् । नेपालमा धार्मिक, सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिक रुपमा सम्मान र संरक्षण गरिएको छ । विविधता बीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाईमा पु¥याउनु पर्ने छ । मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने मेरो विश्वास छ । मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु । समृद्ध–नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, बकर–ईद्का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी, दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।


प्रकाशित | १७ श्रावण २०७७, शनिबार ०९:०८