एनआरएनएको आर्थिक स्थिति सुधार्न कोषाध्यक्ष महेश श्रेष्ठ क्रियाशील, के- के भए सुधार ?

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को गरिमा र साखलाई उच्चो बनाउने गृहकार्यमा वर्तमान कार्यसमिति निकै सक्रियतापूर्वक लागिपरेको छ । वर्तमान कार्यसमिति संस्थाको हरेक क्षेत्रमा सुधार गर्न लागिपरेको हो । विशेष गरि संस्थाको आर्थिक स्थितिलाई सुधार्दै आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ ।

एनआरएनको आर्थिक स्थिती निकै नाजुक रहेको अवस्थामा एनआरएनएको कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको महेश श्रेष्ठले चुनावमै चार मन्त्र अगाडि सार्नुभएको थियो । संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्दै चुनावमा प्रस्तुत हुनु भएको श्रेष्ठले सबैभन्दा बढी मत पनि प्राप्त गर्नुभयो । सबैको विश्वास जितेर निर्वाचीत हुनुभएको कोषाध्यक्ष श्रेष्ठ अहिले भने संस्थालाई कसरी आर्थिक पारदर्शीता र उत्तरदायिपूर्ण बनाउने भन्ने विषयमा अहोरात्र खटिरहनु भएको छ ।

संस्थामा पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना गरि चार मन्त्र लिएर विजयी श्रेष्ठले निर्वाचीत भएसँगै संस्थामा सुधारको प्रयास थाल्नुभयो । संस्थामा आर्थिक स्थिति सुधार्न धेरै प्रयास भएका छन् जसलाई छोटकारीमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :-

डिडिए रिपोर्ट तयार

विशेष गरि कोषाध्यक्ष श्रेष्ठले शूरुमा डिडिए रिपोट तयार पार्न लागिपर्नुभयो । संस्थाको विगतदेखि अहिलेसम्मको आर्थिक स्थिति कस्तो छ ? भनेर कोषाध्यक्ष श्रेष्ठले डिडिए रिपोर्ट तयार पार्नुभयो । डिडिए रिपोर्ट तयार भएसँगै विगतका कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्ने योजनामुतावीक आन्तरिक लेखापरिक्षण गराउने कार्यको थालनी भयो । जसको लागि आन्तरिक लेखापरिक्षक नियुक्त गरियो । अहिले कोषायक्ष श्रेष्ठ आगामी दिनमा आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा संघको लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक र पारदर्शी बनाउँदै संघलाई सँस्थागत गर्दै लैजान क्रियाशील हुनुहुन्छ ।

तीन /तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनीक

कोषाध्यक्ष श्रेष्ठले निर्वाचीत भएको तीन महिनामै संस्थाको आर्थिक प्रतीवेदन पनि सार्वजनीक गर्न सफल हुनुभयो । आइसिसीको आर्थिक प्रतिवेदन सार्वजनीक गरेसँगै राष्ट्रिय समन्वय परिषद (एनसिसी ) हरुको समेत तीन /तीन महिनामा आर्थिक प्रतिवेदन गैर आवासिय नेपाली संघ केन्द्रीय सचिवालयमा पठाउन अनुरोध गरियो । जसअनुसार सबै एनसिसीले आफनो प्रतिवेदन पठाए र सार्वजनीक भयो । स्मरण रहोस : संस्थामा पहिलो पटक यसरी तीन तीन महिनामा वेभसाईटमार्फत आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने कार्यको शूरु गरिएको हो । संस्थामा आर्थिक स्थिति सुर्धान प्रयासरत कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन कडाईका साथ सार्वजनीक गर्न सफल हुँदै आउनुभएको छ ।

अन्तर्राष्ट्रिय दातृ निकायहरुवाट सहयोगको लागि बाटो खुला

गैर आवासीय नेपाली संघलाई अन्तराष्ट्रिय श्रमीक संगठन (आइएलओ ) बाट ५ करोड अनुदान सहयोग प्राप्त भएको छ । सो सहयोगको लागि विशेष गरि विज्ञ ब्यक्तीत्वहरुको महत्वपूर्ण योगदान रहे पनि संस्थाको आर्थिक लेखा प्रणाली पनि एक हो । संस्थामा आर्थिक स्थिति र लेखा प्रणाली राम्रो भएकै कारण पनि पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायवाट सहयोग प्राप्त भयो । अन्तराष्ट्रिय मापदण्ड अनुरुपको लेखा प्रणाली तथा आर्थिक अनुशासन र आर्थिक पारदर्शिता कायम भएसँगै आगामी दिनमा पनि थप अन्तर्राष्ट्रिय दातृ निकायहरुवाट यस्तै सहयोगहरु प्राप्त गर्न सक्ने बाटो पनि खुला भएको देखिन्छ ।

पहिलो पटक बजेट बनाएर खर्च गर्ने परिपाटीको शूरुवात

त्यस्तै, कोषाध्यक्ष श्रेष्ठले पहिलो पटक एनआरएनमा बजेट प्रस्तुत गर्ने परिपाटीको शूरुवात गर्नुभयो । केन्द्रीय समितिबाट अनुमोदन गर्दै खर्च गर्ने कार्य शूरु गरियो जुन कोषाध्यक्ष श्रेष्ठकै पहल र सक्रियतामा भएको हो । एनआरएनएको इतिहासमा पहिलो पटक प्रस्तुत गरिएको बजेट आर्थिक वर्ष २०७७ /७८ का लागि रु ८७,१२२,९१० पारित भएको छ ।

डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्था

त्यस्तैगरि, पहिलो पटक संघले सुरु गरेको अनलाइनबाट सजिलै आफूले चाहेको जति रकम डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्थाको पनि शूरुवात गरिएको छ । कोभिड १९ को अवस्थामा विश्वभरिबाट सहयोग संकलनमा सहज होस भन्ने उद्देश्यले अनलाइनबाटै चन्दा दिन सकिने ब्यवस्थाको शूरुवात गरिएको हो । राहत कोषमा सम्पूर्ण नेपालीहरुले आफ्नो ठाउंबाट आफ्नै कार्ड प्रयोग गरी रकम दिन मिल्ने ब्यबस्था एनआरएनएले गरेको हो ।

संघले गर्ने खर्चलाई चुस्त राख्न आर्थिक नियमावली तयार

गैर आवासीय नेपाली संघले आफ्नो आर्थिक अनुशासनलाई कायम राख्न पहिलो पटक आर्थिक नियमावली २०२० पनि पारित गरेको छ । सो नियमावलीले आगामी दिनमा संघले गर्ने खर्चलाई चुस्त राख्न सहयोग गर्नेछ । आर्थिक निकासा, खर्च, टेन्डर, प्रशासनिक खर्च आर्थिक नियमावली अनुरुप हुने छन् । ४५ पेज लामो सो नियमावलीले संघको आर्थिक प्रसाशनलाई कडाई तथा पारदर्शी बनाउने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । कर्मचारी प्रशासन नियमावली बनाएर सचीवालयलाई ब्यवस्थित बनाउने कार्यको पनि शूरुवात गरिएको छ ।

कोभिड- १९ कोषमा उल्लेख्ख सहयोग

त्यस्तै, कोभिड १९ को महामारीमा विश्वभरिबाट कोषाध्यक्ष श्रेष्ठको नेतृत्वमा राहत संकलन गरिएको थियो । सो राहत वितरण प्रणालीलाई पनि ब्यवस्थित बनाइएको छ । कोषाध्यक्ष श्रेष्ठका अनुसार अहिलेसम्म एनआरएनएको राहत कोषमा रु १० करोड ८५ लाख ८४ हजार ६ सय ६६ संकलन भइसकेको छ । कोषको सो रकमबाट नेपाल सरकारलाई कोभिड १९ सम्बन्धी स्वास्थ्य सामाग्री खरिद गरि वितरण, विभिन्न अप्ठ्यारोमा परेका नेपालीलाई एनसिसीमार्फत नगद सहयोग उपलब्ध गराइएको थियो ।

माथि उल्लेख गरिएजस्तै एनआरएनको वर्तमान कार्यसमितिले आर्थिक स्थिति सँगै हरेक क्षेत्रमा सुधारको प्रयास जारी राखेको देखिन्छ । एनआरएनमा विगतमा भएका कमजोरी सुधार्दै ब्यवस्थित ढंगले अगाडि बढाइरहँदा संघप्रति अहिले नेपालीहरुले मात्र नभई अन्तराष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बन्दै गएको छ ।


प्रकाशित | १२ श्रावण २०७७, सोमबार १२:१२