परिक्षणको दायरा घटाएर संक्रमण घटेको भ्रामक प्रचार गरियो : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सरकारले परिक्षणको दायरा घटाएर कोभिड १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताउनुभयो ।

कोभिड १९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताउनुभयो ।

सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाउनुभयो । राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पस्ट भएको महतले बताउनुभयो ।

उहाँले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताउनुभयो ।

पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताउनुभयो । समुदायमा फैलन सक्ने संक्रमणको नियन्त्रणका लागि सकरारले परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।

सरकारले होल्डिङ सेन्टर र क्वारेन्टाइनको मापदण्ड अनुरुप सञ्चालन गर्न गम्भिर नभएको बताउनुभयो । लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको पनि कार्यान्वयनमा चासो नदेखाएको उहाँले बताउनुभयो ।

लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने तर्फ सरकार गम्भीर नभएको बताउनुभयो ।

यस्तो छ सरकारलाई पाँच बुँदे ध्यानर्कषणपत्र

१. संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।

२. लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।

३. नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।

४. सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना,मझौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन । अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्पm सरकारको पटक्कै ध्यान गएको छैन ।

५. लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन । हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं ।

पार्टीका सदस्य, शुभचिन्तक, समर्थक र आम नेपाली दिदीबहिनी–दाजुभाइहरुलाई संक्रमण जोखिमप्रति सचेत भई भौतिक दुरी र मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई आफू पनि अपनाउने र अरुलाई पनि अपनाउन प्रेरित गर्न नेपाली कांग्रेसले अनुरोध गरेको छ ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार १७:४६