कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’नेतृत्वमा विश्वास गर्ने संस्था होइन : नेता नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभएको बताउनुभएको छ । पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ ।’

नेता नेपालले श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुष्पलालले स्थापना गरेका पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सकेको बताउनुभयो ।

नेता नेपालले विज्ञप्तिमा भन्नुभएको छ, ‘कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरु हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा छन्’, ‘कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ ।’


प्रकाशित | ७ श्रावण २०७७, बुधबार १३:२५