नेपाल भ्रमण वर्ष सचिवालय र टर्कीस एयरलाइन्सबीच आठ बुँदे सम्झौता

काठमाडौं : नेपाल पर्यटन प्रवद्र्धनकालागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले अन्तर्राष्ट्रिय हवाई कनेक्सनमा ठूलो योगदान पुर्याउदै आएको टर्कीस एयरलाइन्ससंग सम्झौता गरेको छ । नेपाल भ्रमणमा आउने यूरोप र अमेरिकाका पर्यटकलाई टर्कीस एयरलाइन्सले ठूलो सहयोग गर्दै आइरहेको छ ।

नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयर लाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीबीच आठ बुँदे सम्झौता भएको हो । सम्झौतापछि संयोजक वैद्यले नेपाल जस्तो ल्याण्ड लक कन्ट्रीमा अन्तर्राष्ट्रिय हवाई कनेक्सनको ठूलो भूमिका हुने बताउनुभयो ।

नेपाल उडानमा केही महंगो भएपनि टर्कीस एयरलाइन्सले निरन्तर हवाई उडान गरिरहेकोमा धन्यबाद दिदै संयोजक वैद्यले भन्नुभयो, ‘नेपालले पनि विमानस्थल स्तरोन्नतीका साथै सुधारका कामहरु गरिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलहरु थपिनेक्रममा भएका कारण अझ सहज हुनेछ ।’

त्यसैगरी टर्की एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीले टर्किस एयरलाइन्सले निरन्तर हवाई सेवासंगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिदै आएको चर्चा गर्नुभयो । उहाँले आउदा दिनमा पनि नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तब्यहरु मार्फत पनि प्रचार प्रसार गर्ने जानकारी दिनुभयो ।

सम्झौताहरुमा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रुपमा टर्कीस एयरलाइन्स रहने, यूके, यूरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गर्ने भएको छ ।

त्यसैगरी, अमेरिका तथा यूरोपका देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्त रुपमा प्रचार प्रसार गरिने, विदेशी पत्रकारहरुलाई नेपाल भ्रमण वर्षको रिर्पोटिङ गर्न आउने निश्चित पत्रकारहरुका लागि हवाई भाडा व्यहोरिदिने जस्ता सम्झौताहरु भएका छन् ।


प्रकाशित | ५ पुष २०७६, शनिबार १५:०४