नेकपा स्थायी कमिटी बैठक: राहत तथा उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै एक हप्ताका लागि स्थगित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठक एक सातापछि साउन १३ गते ११ बजे बस्ने गरि सम्पन्न भएको हो । बैठकले बाढी, पहिरो तथा डुबानमा परेकाहरुको उद्धार र राहतमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र डुवानका कारण मुलुक समस्यामा परेकाले प्राकृतिक विपतमा परेकाहरुको उद्धार र राहत व्यवस्थापनमा लाग्ने प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा पछि सारेर १ बजे राखिएको थियो । तर बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी डेढ बजे बसेको थियो । बैठक आधा घण्टा बसेर स्थगित भएको थियो । तर बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थिती हुनु भएन ।

पार्टी प्रवक्ता श्रेष्ठका अनुसार मनसुन शुरु भए यता यस वर्ष २३३ जनाको ज्यान गएको, ९८ जना बेपत्ता भएको, ९९ जना घाइते र २८२ घरमा क्षति भएको छ ।

स्थायी कमिटी बैठक अघि बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार १५:१७