एनआरएनए अध्यक्षमा थापाको औपचारिक उम्मेदवारी घोषणा, थापा प्यानलबाटै उपाध्यक्षमा गुरुङ र महासचिवमा अधिकारी

काठमाडौं – गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान उपाध्यक्ष थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

घोषणा सभामा बोल्दै थापाले पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले अमेरिकाले यो पटक इतिहास रच्ने र महिला नेतृत्वमा पुग्ने पनि दावी गर्नुभयो ।

एनआरएनएको २० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले नेतृत्वमा पुग्ने प्रयास गरेको बताउँदै भन्नु भयो, ‘उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’

आफ्नो उम्मेदवारी संस्थागत परिवर्तन र महिलाहरु पनि सक्षम छन् भन्ने कुरालाई स्थापीत गर्नका लागि पनि भएको उहाँले बताउनु भयो । उहाँले विभिन्न प्रतिबद्धताहरु सार्वजनिक गर्दै महिलालाई नेतृत्वदायक पदमा पुर्याउनु, अमेरिकासहित विश्वबाट नेपालमा सहयोग तथा लगानी वृद्धि गर्नु, विदेशमा भएका नेपालीहरुलाई नागरिकताको निरन्तरताको लागि र विदेशमा रहेका नेपालीहरुलाई मताधिकारका लागि उम्मेदवारी भएको बताउनु भयो ।

साथै उहाँले विदेश जाने नेपालीहरुलाई गन्तव्य देशको बारेमा ज्ञान सीप जानकारी गराउन सरकारसँग समन्वय गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुका समस्याहरुको समाधान गर्न र विदेश जाने नेपाली श्रमिकहरुको वीमा, स्वास्थ्य वीमा र सामाजिक सुरक्षाको प्रवन्ध मिलाउन सरकारसँग समन्वय गर्ने बताउनु भयो ।

त्यस्तैगरि, एनआरएनएमा पञ्जीकृत सदस्यहरुको संख्या बढाउने र सबैले आईसीसीमा मतदान पाउने व्यवस्था गर्ने, विदेशमा नेपालको कला, संस्कृतिको प्रवद्र्धन गर्ने, विदेशमा नेपाली फिल्महरुको विस्तारमा सहयोग गर्ने लगायतका प्रतिबद्धता पनि सार्वजनिक गर्नु भएको छ ।

सो अवसरमा थापाको टिमबाट उपाध्यक्ष पदमा ग्लोवल गोरखा समाजका संस्थापक अध्यक्ष समेत रहनु भएको जयप्रकाश गुरुङ र महासचिवमा यूकेबाट विनय अधिकारीले उम्मेदवारी घोषणा गर्नु भएको छ । साथै भर्चुअल रुपमा जापानबाट ओम गुरुङले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

घोषणा सभामा बोल्दै उपाध्यक्षका उम्मेदवार गुरुङले आफूले लामो समयदेखि एनआरएनएमा संलग्न भएर काम गरेको भन्दै आफू भुपू गोर्खा पनि भएको कारण गोर्खालीहरुका समस्या समाधानमा बढी केन्द्रीत हुने बताउनु भयो ।

त्यस्तै महासचिवका उम्मेदवार अधिकारीले एनआरएनए सदस्यहरुको संख्या १५ लाख पुर्याउने, राजनीतिक प्रभाव कम गर्ने, संस्थाको आर्थिक विकास गर्ने र पारदर्शिता सुनिश्चित गर्ने, नागरिकता निरन्तरता, मताधिकार, स्वायत्त एनसीसी, नेपालमा लगानी वृद्धि, नेपाली कल्चरल भिलेज बनाउने, महिला तथा युवाहरुलाई एनआरएनएमा संलग्न गराउने अभियानमा लाग्ने बताउनु भयो ।

कार्यक्रममा अमेरिकाबाट प्रेम श्रेष्ठ र कृष्णजीवी पन्तले पनि भर्चुअल रुपमा सम्बोधन गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो । आगामी २० अक्टोवरमा हुन गइरहेको संघको निर्वाचनमा नेतृत्वको लागि थापासँगै अर्का उपाध्यक्ष डा. बद्री केसी र सल्लाहकार कुल आचार्यले पनि उठ्ने घोषणा गर्नु भएको छ । यो सँगै निर्वाचनमा नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।


प्रकाशित | ७ आश्विन २०७८, बिहीबार २१:००